स्वास्थ्यमन्त्रीले बजेट काटेपछि वीर अस्पतालका कर्मचारीले तलव पाएनन्, प्रशासनमा ४ दिनदेखि ताला

१९ पुष २०८०, बिहीबार १६:५५

काठमाडौं । नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएपछि मुलुकको जेठो वीर अस्पतालको प्रशासनमा ४ दिनदेखि ताला झुण्डिएको छ ।

अस्पतालका कर्मचारी संगठनले पटक-पटक जानकारी गराउँदा पनि व्यवस्थापन पक्षले महत्व नदिएको भन्दै तालाबन्दी गरिदिएका हुन् । कर्मचारीहरुले अस्पताल प्रशासनले नियमित तथा अतिरिक्त समय काम गरेको पैसा भुक्तानी नगर्दासम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

वीर अस्पतालका प्रशासन प्रमुख बाबुराम घिमिरेका अनुसार अस्पतालले प्रदान गर्दै आइरहेको ५० प्रतिशत प्रोत्साहन भत्ता लामो समय नपाएपछि वीर अस्पतालका कर्मचारी आन्दोलित भएका हुन् ।

कोरोना महामारीको समयमा अस्पतालले प्रदान गर्ने भनेको ८ महिना तथा गत साउनदेखि यताको प्रोत्साहन भत्ता कर्मचारीले पाउन सकेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बजेट विगतका वर्षको तुलनामा न्युन भएको तथा आन्तरिक आम्दानी अत्यावश्यक सामग्रीहरुको खरिदमा खर्च हुँदा धान्न नसकेकोले कर्मचारीहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्न नसकिएको बताइएको छ ।

अस्पतालका एक कर्मचारीका अनुसार विगत १४ महिनादेखि अस्पतालले प्रदान गर्दै आइरहेको सेवा विस्तार भत्ता अस्पतालमा कार्यरत कर्मचारीले पाएका छैनन् ।

कमिसनको चक्करमा अस्पताल प्रशासनले अनावश्यक सामान खरिद गर्दा कर्मचारीले खाईपाई आएको तलब-भत्ता नदिइएको भन्दै अस्पताल प्रशासनमा ताला लगाइएको ती कर्मचारी बताउँछन् । उनीहरुले स्वास्थ्यमन्त्रीकै कारण ‘यस्तो समस्या आएकोे समेत बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकूलपति डा भुपेन्द्र कुमार बस्नेत आन्दोलनरत कर्मचारी तथा प्रशासनबीच वार्ताको प्रयास भइरहेको बताएका छन् ।

अनावश्यक सामग्रीहरुको खरिद गरी कर्मचारीको तलब भत्तालाई प्राथमिकतामा नराखिएको भन्ने कर्मचारीको आरोप खण्डन गर्दै डा. बस्नेतले अत्यावश्यक बाहेकका सामग्री खरिद नभएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*