भारतीय विदेशमन्त्री जयशंकर नेपालमा

१९ पुष २०८०, बिहीबार १०:४०

काठमाडौं । नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागि हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरे ।

नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोगको बैठकमा सहभागी हुनुका साथै विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

संयुक्त आयोगको बैठक बिहीबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो । यद्यपि कोरोना महामारीका कारण पछिल्लो २ वर्षमा संयुक्त आयोगको बैठक हुन सकेको थिएन । पछिल्लोपटक २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो ।

यसपटक संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा बस्न लागेको हो । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् । बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विविध आयामबारे समीक्षाका साथै छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपालले व्यापार असन्तुलन कम गर्ने, आयात-निर्यातको सन्तुलन कायम गर्ने तथा उर्जा व्यापारको विषयलाई महत्त्व दिएर अजेन्डामा समावेश गरेको छ ।

बैठकमा नेपाल-भारत विद्युत् व्यापारका सन्दर्भमा पनि समझदारी हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले गत जेठमा गरेको भारत भ्रमणका क्रममा नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*