सुन तस्करीमा भरियालाई मात्र डाम्नेगरी मुद्दा दर्ता, फरार कलेज सञ्चालकलाई उन्मुक्ति
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ठूला सुन कारोबारीलाई छोपेर भरियालाई मात्र डाम्ने गरी डेढ अर्बको विगो दाबीसहित मुद्दा हालेको छ । एक महिनाअघि विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका गोरखा बारपाकका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर विमानस्थल भन्सार कार्यालय गौचरले काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको हो ।
यो अनुसन्धातको हविगत पनि विगत कै जस्तो भएको छ । मुख्य कारोबारीसम्म पुग्न नसकेको अनुसन्धानले घलेको कनेक्सनमा देखिएका डिल्लीबजारस्थित प्लाटिनम कलेजका संचालक जीवनकुमार गुरुङ समेतलाई छुटाएको छ । उनी फरार रहेका भन्दै प्रतिवादी नबनाइएको बताइदै छ । अनुसन्धानमा जीवनकुमारको कनेक्सन देखिँदादेखिँदै पनि फरार रहेको भन्दै उन्मुक्ति दिइएको छ । यसले राज्य संयन्त्र नै तस्करहरुको जालो तोड्न चाँहदैन भन्ने प्रमाणित गरिदिएको प्रतिक्रिया आउन थालेको छ ।
जीवनले कलेजसँगै डिस्को पनि चलाउने गरेका छन् । तर, अहिले भने उनी फरार छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले घटनाको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । समितिले भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेयलाई बुझाएको प्रतिवेदनको आधारमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जसमा ८ जना पक्राउ परेका र २ जना फरार प्रतिवादी रहेका छन् । फरारमा विना गुरुङ र दिदी भन्ने एक जना महिला रहेकी छिन् ।
प्रतिवेदनमा मीन बहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले पटक–पटक गरी १३८ किलो सुन सेटिङ मिलाएर ल्याउने गरेको उल्लेख छ । मीनबहादुर, कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरी दुबईस्थित अंकित अग्रवाल र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरी १४ किलोका दरले अवैध रुपमा सुन नेपाल भित्र्याउने गरेका थिए । अंकित र गुरु भन्ने व्यक्तिलाई भने प्रतिवादी बनाइएको छैन । उनीहरुको बारेमा थप अनुसन्धान गर्ने भनिएको छ । तर, अंकित नामका मात्र पात्र हुन् वा होइनन् भन्ने अनुसन्धानमा खुलेन ।
कृष्णकुमार श्रेष्ठ (स्याङजा), शेरबहादुर बस्नेत (काठमाडौं), लेकबहादुर तामाङ (नुवाकोट), राधाकृष्ण श्रेष्ठ (काठमाडौं), रमेश देउला (काठमाडौं), अनिल श्रेष्ठ (धादिङ) र विना गुरुङ (लमजुङ) संलग्न रहेको पाइएको छ । अनुसन्धान कै क्रममा कृष्ण कुमार श्रेष्ठसँग १७ वटा पासपोर्ट फेला परेको थियो ।