अब कस्ता सहकारीमा बचत गर्ने ?, को छन् सुरक्षित ?

रामकृष्ण अनायास
१७ पुष २०८०, मंगलवार १४:२०

पछिल्लो समय पाँच सहकारीमा सर्वसाधारणको १० देखि १५ अर्ब रूपैयाँ फसेकोे विषय लगातार मिडियामा आइरहेको छ । ती पाँच सहकारी मात्र नभई देशभरका धेरै (लगभग ७० देखि ८०) वटा सहकारीको नामै किटान गरेर सहकारी विभागमा रकम फिर्ता नगरेको भन्दै उजुरी नै परिसकेको अवस्था छ । सहकारी विभागले गरेको प्रारम्भिक आँकलन अनुसार ६० देखि ६५ अर्ब रूपैया यी सहकारी संस्थामा फसेको तथ्याङले देखाएको छ । मेरो व्यक्तिगत आँकलन अनुसार सहकारी संस्थाहरूमा यतिखेर आमसर्वसाधारणको लगभग २ खर्बसम्म रकम फसेको हुनुपर्छ । यसमा पनि अझै कतिपय सहकारीका दस्यहरू उजुरी गर्न गएका छैनन् । कतिपय ठूला शहरका ठूलासाना सहकारीलाई बचत फिर्ता गर्न सकस परिरहेको छ । यो एकदम जटिल समस्या हो, यस्तो जटिल समस्या प्राय शहरकेन्द्रित सहकारीमा धेरै देखिएको छ । यस्तो समस्या अहिले मात्र नभई २० वर्ष अघि पनि थियो । त्यतिबेला अहिलेको जस्तो सबैतिर मिडिया र सोसियल मिडियाको पहुँच थिएन ।

त्यतिबेलै ५० देखि ८० को हारहारीमा सहकारीहरु पलायन भइसकेका थिए । त्यो बेलादेखि नै सहकारीका संचालक समिति सदस्यहरुले रकम संकलन गरेर घरजग्गा, कलकारखाना रियलस्टेट आदि ठाउँमा लगानी गरेका थिए । बचत कर्ताको रकम अन्यत्र लगानी गर्दा फिर्ता गर्न नसक्नाले भाग्ने क्रम सुरू भएको पाइन्छ । यो क्रम घट्नुको साटो झन् बढेर गयो । पछि यो संचालकले संस्थागत ठगि गरेको रुपमा घोषित हुन पुग्यो । सहकारीमा पैसा सुरक्षित नहुने भन्ने होइन । तर, कतिपय त्यस्ता सहकारी गलत नियत राखेर पूर्वयोजना अनुसारनै स्थापना गरिएका हुन्छन् । र, तिनले योजना मुताविक नै सदस्यहरुको रकम हिनामिना गर्छन् । अर्कोतिर बढी व्याजको प्रलोभनमा परेर डाक्टर, ईन्जिनियर र समाजका प्रतिष्ठित व्यक्तिहरू नै यो जालोमा फसेका देखिन्छ । अनुसन्धानले पनि त्यही भन्छ ।

जब नेपालमा २०६४ मा सम्पत्ति शुद्धिकरणको निति आयो त्यसपछि नेपालका बैङ्कहरूमा १० लाख भन्दा बढी कारोबार गर्दा स्रोत खोल्नुपर्ने व्यवस्था भयो । स्रोत खोल्नुपर्ने व्यवस्थाका कारणले ठूलो कारोबार गर्नेहरुले सहकारीमा पैसा जम्मा गर्न थाले सहकारीमा स्रोत खुलाउनु परेन । स्रोत नचाहिने र चाहिएका बेला सजिलै झिक्न राख्न सकिने एवं ऋण सापटी पनि गर्न बैंकजस्तो लम्बा चौडा नहुने भएका कारण सहकारी संस्थामा लगानी ओइरियो । सहरकारीमा लगानी बढ्नका कारण अन्य थुप्रै छन् । सहकारीहरु घरघरै आइपुग्न थालेपछि मान्छेहरुले बैंकमा लाइन बस्ने कष्ट गर्न छाडे । जसले गर्दा सहकारीमा बचत थुप्रिने क्रम बढेर गयो । घरघरै सहकारी खुले, शाखा प्रशाखा विस्तार भए । तथ्याङ्क हेर्ने हो भने ६ देखि ७ खर्बको कारोबार हुन थाल्यो । कतिपय सहकारीहरू बैङ्को दाँजोमै पुग्ने होडबाजी गर्न थाले । बैंक जस्तै एटीएम सेवा प्रवाह गरेको प्रचार प्रसार गर्न थाले । ई-बैंकिङ सुरु गरे । तर, कतिपय सहकारी भने परिवारवादले जकडिए । संस्थामा परिवारकै व्यक्ति प्रमुख सञ्चालक, व्यवस्थापक भए । तिनै परिवारका सदस्यले बचतकर्ताको रकम रियलस्टेट, हस्पिटल, सुपरमार्केट, जग्गामा व्यक्तिग लगानी गरी व्यवसाय गरे । व्यवसायबाट त्यो रकम फिर्ता आएन । डा. युवराज खतिवडा गभर्नर भएको समयमा राष्ट्र बैंकले रियलस्टेटमा लगानी बन्द गर्ने नीति लियो । त्यो नीतिको असरले सहकारीमा बाढी लाग्यो । आफैंले सहकारी खोलेर आफैं रियलस्टेटमा लगानी गर्ने ह्वीम चल्यो । बजार सूचाङ्कमा उथलपुथल देखियो ।

त्यही बेला कोरोना महामारी विश्वभर फैलियो । नेपालको जीडीपी अर्थात कुल ग्राहस्थ उत्पादनको ८.६ प्रतिशत कोरोनाले क्षति गरेको अनुसन्धानले देखाएको छ । देशमा त्यतिठूलो आर्थिक संकट आइपर्दा नेपाल सरकारले यसबारे केही सोच्न सकेन । अर्थतन्त्रमा आएको शिथिलताले लामो समय निरन्तरता पाइरहयो । आर्थिक मन्दीले घरजग्गा कारोबार ठप्प भयो भने सरकारले जग्गामा कित्ताकाट पनि बन्द गरिदियो । सहकारीले गरेको लगानी त्यसैमा डुबन गयो । सहकारीहरू प्राइभेट कम्पनी जस्तै भए । त्यसरी गरिएको लगानीले न नाफा कमायो न लगानी नै फिर्ता आयो । अर्थतन्त्रमा देखिएको मन्दीले आर्थिक कारोबार गर्ने लगभग ८० प्रतिशत संस्थामा प्रत्यक्ष असर देखिन थाल्यो । सामान्य ऋण लगानीमा रहेको रकम पनि उठ्न सकेन । त्यसको प्रत्यक्ष असर सहकारीलाई पनि पर्न गयो । दिनमै बाउन्स चेकको संख्या सयौं हुन थाल्यो । यता ऋण लगानी नउठ्नु र उता बचत फिर्ता माग्ने बचतकर्ताको लाइन बढ्न थालेपछि विकल्पमा संचालक समिति सदस्यहरुको भागदौड चल्यो ।

बचतकर्तालाई थाहा भयो कि अब हाम्रो लगानी डुब्यो । अनि समुदायमा आधारित तथा समुदायमै संगठित सहकारी संस्थालाई हेर्ने दृष्टिकोण पनि एउटै बन्यो । र, सहकारीको अर्को परिचय ‘ठगी’ हुन पुग्यो । भीडले निर्माण गरेको भाष्यका सामुन्ने समुदाय स्तरमै रहेका सहकारीले आफु सुरक्षित रहेको र बचत कर्ताको लगानी सुरक्षित रहेको कुरासम्म बुझाउने आँट गर्न सकिरहेका छैनन् । ती सहकारीहरु आफ्नो कुरा बुझाउन उपयुक्त माहोल खोजीरहेका छन् । ठूला सहकारीको ठगी प्रकरणले समुदायस्तरमा सञ्चालित सहकारीहरु ओझेलमा परेका छन् । विशेष गरेर गरिबी निवारणका लागि समुदायमा स्थापित सहकारीहरुले सर्वसाधारणको आर्थिक, सामाजिक जीवनस्तरमा माथि उठाउन धेरै ठूलो भूमिका खेलेका छन् ।

ती सहकारीलाई पनि अहिले एउटै चस्माबाट हेर्न थालिएपछि सहकारीको पुर्नजागरणमा चुनौति खडा भएको छ । त्यस्ता सहकारीले अकारण आफुहरुमाथि छ्यापिएको हिलो पखाल्न ढिला गर्नु हुँनैन । त्यसका लागि स्थानीय समुदाय, त्यसको संचालक समितिका सदस्यहरू स्वयं जाग्न जरुरी छ । यस समयमा सहकारीको आर्थिक संकट राज्यको बेवास्ताले झन् बढ्दै गइरहेको देखिन्छ । राज्यले परिवादवादले चलेका सहकारी र वास्तविक समुदायमा आधारित सहकारीको वास्तविक चित्र निकाल्ने प्रयत्न गरेको छैन । जस कारण समस्याग्रस्त सहकारी र जोखिमरहित सहकारीबीच भेद छुट्याउन मुस्किल भएको छ । समुदायस्तरमा चलिरहेका सहकारीले अकारण दुव्र्यवहारको मार खेपिरहेका छन् । परिवारवाद र नीतिभन्दा बाहिर गएर ऋण लगानी गरेका सहकारीको उदाहरण सुर्यदर्शन बचत तथा ऋण सहकारी, साहारा बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी सहकारी जोरपाटी, सुप्रिम साकोस, सानोपाईला साकेस, समानता साकोस आदि हुन् । ती सहकारीले आफ्ना सदस्यभन्दा बाहिर गएर नियम मिच्दै विना धितो विभिन्न व्यवसाय र व्यक्ति एवं शेयर कारोबारीलाई ऋण लगानी गर्नाले आज देशभरका ३० प्रतिशत बचत कर्ताको रकम फिर्ता हुन सकेको छैन । परिवारवादमा चलेका सहकारी कै ‘संचालक’ भागि हिँड्नु परेको छ ।

किन मौन छ छाता संगठन ?
सहकारीको छाता संगठन यो वा त्यो बहानामा पन्छिदै आएको छ । सहकारीबाट नविकरण र समावेशको नाममा पैसा उठाउने संघ समस्या पर्दा चुपचाप छ । सहकारीको छाता संगठनका पदाधिकारीहरुका सहकारीको छानविन नगरी यसमा कुनै तातो लाग्ने देखिन्न । छाता संगठनका अगुवाहरुले मौनता साँध्नुको पछाडी उनीहरु सञ्चालक रहेको प्रारम्भिक सहकारी संस्था नै नीति भन्दा बाहिर गएर काम गरेको कारण लुकेको हुनसक्छ । यतिबेला बचतकर्ताको बचत डुबेको अवस्था छ । सरकारले सहकारीलाई एकोहोरो लखेटिरहेको अवस्था छ । बैंकका संचालकसँग मिलेर सरकार सहकारी संचालनमा अफ्ट्यारो बनाउदै गइरहेको छ । सहकारीमाथि करको दायरा बढाएर झन् असहज स्थिति निम्त्याएको छ । त्यसैले भागेका संस्था गुमनाम भए भने समुदायलाई आधार बनाएर समुदायमै कार्यरत सुरक्षित सहकारीलाई राज्यले कठिन स्थिति सिर्जना गरेको छ । यो अवस्थाको अन्त्य जरुरी छ ।

के हुनसक्छ राज्यको दायित्व ?
जसरी हिजो राज्यले परिवारवादी तथा पूँजीपतिलाई बिना अनुगमन सहकारी स्वीकृतको प्रमाणपत्र बाँडेको थियो त्यसैगरी अब बचतकर्तालाई बचत फिर्ता हुने विश्वासको वातावरण बनाउन आवश्यक छ । सहकारीले धितोमा राखेको धितो लिलामको स्वीकृति तथा सहजिकरण सरकारबाटै हुनुपर्छ । सम्पर्कविहिन त्यस्ता सहकारीलाई तत्काल कानूनीदायरामा ल्याएर रकम असुलउपर गराउने दायित्व पनि सरकारको रहन्छ । अझै बिग्रिसकेको अवस्था होइन । राज्यको ईच्छाशक्ति राखे समस्या समाधान गर्न समयको कुरा हो, असम्भव भन्ने छँदै छैन । सहकारीको नियामकको जिम्मा स्थानीय सरकारलाई दिइएको छ । त्यो त्यसरी विना मेकानिजम स्थानीय तहलाई दिइनु हुँदैन । कारणः सेटिङको जालो स्थानीय तहबाट हुने गरेको देखिन्छ । जसले सहकारीलाई थप बिग्रिन प्रोत्साहन भइरहेको छ । स्थानीय तहमा न वित्तीय क्षेत्र बुझेका कर्मचारी छन्, न दक्षता नै । त्यसैले यो संघ सरकार मातहत मै वित्तीय नियामक बनाइनुपर्दछ ।

कस्तो सहकारी संस्था जोखिम मुक्त छन् ? र बचत गर्न लायक छन् ?
नेपालमा विभिन्न उद्देश्य केन्द्रित कुल ३४ हजार हाराहारी सहकारीमध्ये करिब १५ हजार बचत तथा ऋण सहकारी संस्था छन् । ती १५ हजार मध्ये देशभर ७० देखि ८० वटा सहकारीमा समस्या देखिएको छ । जसमा ९८ प्रतिशत शहरकेन्द्रित सेवाकेन्द्र विस्तार भएका सहकारीमा समस्या रहेको पाइन्छ । जथाभावी सेवाकेन्द्र खोलेका संस्थाहरूमा बचत गर्दा ध्यान दिन जरूरी छ । जो समुदायलाई आधार बनाएर समुदाय भित्रैबाट चुनिएका सञ्चालक रहेका संस्था र जुन संस्थाले नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढेको छ र आफ्नो कार्यक्षेत्र प्रष्ट गरेर सम्बन्धित क्षेत्रभित्र मात्रै कारोबार गरेको त्यो सहकारी जोखिम मुक्त छ भन्ने बुझ्नु पर्दछ । जसले छिमेकी समुदायमा रहेका अन्य संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढेको छ त्यस्ता सहकारीमा सदस्य बनेर कारोबार गर्न सकिन्छ ।

समुदायमा आधारित सहकारीमा रहेका व्यक्तिहरू तपाई हाम्रै प्रत्यक्ष निगरानीमा रहेन भएका कारण समुदायभित्र कै व्यक्तिहरू संचालक रहेको संस्था रोज्नुस् । र, बचत संकलन गर्नका लागि मात्रै विभिन्न लोभ प्रलोभ देखाउने शहरिया सहकारीलाई चिन्नुहोस् । आफ्नो स्थानीय तहभित्रै कार्यक्षेत्र रहेका सहकारीलाई विश्वास गर्दा लगानी डुब्ने खतरा छैन । अनि, वर्षको एकपल्ट साधारण सभामा झुल्किने, खाजा, यातायात खर्च बुझेर फर्किने परिपाटीको पनि अन्त्य गर्नुस् । बेलाबखत आफुले बचत गरेको वा आफु सदस्य रहेको सहकारीको छेड्के गरिरहनुस् । तब तपाई बन्नुहुनेछ, जिम्मेवार सहकारी सदस्य ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*