चार कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । चार कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ युनिभर्सल पावर, एचआइडीसीएल, कालिका पावर र जीवन विकास लघुवित्तले भोलि (पुस १८ गते) बुक क्लोज गर्दैछन् ।
जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
युनिभर्सल पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २९ गते आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा १२ः१५ बजे सभा बोलाएको छ ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।
कालिका पावरले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २८, शनिबार, दियालो फुडल्याण्ड चितवन प्रा।लि।, भरतपुरमा बिहान ११ बजे सभा बोलाएको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।