आलु र प्याज खरिदको नक्कली कारोबार देखाई सम्पत्ति शुद्धीकरण गर्ने दुई जना दोषी ठहर

१६ पुष २०८०, सोमबार १७:२३

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दुई जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमोद कुमार जयसवाललाई ८ वर्ष कैद र ८३ करोड रुपैंया जरिवाना हुने फैसला हुने गरी कसुर निर्धारण गरेको हो । विशेष अदालतले उनलाई गत ४ पुसमा दोषी ठहर गरेको थियो ।

जयसवाललाई ४१ करोड ५१ लाख रुपैंया विगो र त्यसको दोब्बरले हुन आउने रकम ८३ करोड ३ लाख जरिवाना सुनाएको विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए । त्यही घटनामा मुछिएका पप्पु ठाकुरलाई पाँच वर्ष कैद सजाय तोकिएको छ । पप्पुलाई ३ करोड ६७ लाख विगो र दोब्बर ७ करोड ३४ लाख रुपैंया जरिवाना हुने फैसला भएको छ ।

आलु र प्याज खरिद गरेको नक्कली कारोबार देखाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ बैशाख २०७७ मा दुई बाणिज्य बैंकका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि ४१ करोठ ५१ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको अभियोग थियो । विभागले नेपाल एसबीआई बैंक पर्सा रामपुर शाखाकी तत्कालीन शाखा प्रवन्धक विभा चौधरी, त्यही बैंकको विरगञ्ज शाखाका प्रमुख जीवनबाबु सुवेदी लगायत ५ जनामाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको थियो ।

उनीहरुसँगै भारतीय नागरिक प्रमोदकुमार जयसवाल, पप्पु ठाकुर र श्रीलाल रौनियारविरुद्ध पनि मुद्दा दायर गरेको थियो । अनुन्धानका दायरामा परेका १० जना बैंकका कर्मचारीलाई विभागिय कारवाही गरिएको थियो । विशेष अदालतले जयसवाल र ठाकुर बाहेक अरुलाई सफाई दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*