समाजवादीतिर सोझियो बालकुमारी घटनाको सुई, गृहमन्त्रीले यातायात मन्त्रीलाई लगाए दोष
काठमाडौं । कोरिया जानका लागि परीक्षा दिन पाउनु पर्ने माग राख्दा दुई जना ज्यान लिएको बालकुमारी घटनाको सुई सत्तामा रहेको समाजवादीतिर सोझिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको दोष आफ्नै क्याविनेट सहयात्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि थोपरेका छन् ।
गृहमन्त्री श्रेष्ठले कोरिया जान परीक्षा दिन पाउनु पर्ने माग राखेर प्रदर्शन भइरहेको ठाउँमा मन्त्री ज्वाला नपुगेको भए त्यस्तो असामान्य परिस्थिति नआउने बताएका हुन् । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार सांसदहरुका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले यातायातमन्त्री ज्वालाको इन्ट्रिले स्थिति झन् भड्किएको बताए ।
गृहमन्त्री श्रेष्ठले ईपीएस कोरिया शाखा कार्यालयका प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको पनि स्वीकार गरे । आन्दोलनको जानकारी हुँदा हुँदै मन्त्री ज्वाला त्यही बाटो भएर आउनुले घटना थप असामान्य बनेको श्रेष्ठको भनाई थियो ।
मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट देखिएको गृहमन्त्री श्रेष्ठले बताए । फायरिङपछि मात्रै गाडी जलेको देखिएको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे ।
वैदेशिक रोजगारीअन्तर्गत कोरिया जान पानीजहाज क्षेत्रका लागि आवेदन भरेका युवाहरुले कोरियामै उत्पादन क्षेत्रमा पनि काम गर्नका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)को फाराम भर्न पाउनुपर्ने मागसहित शुक्रबार बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले कोटेश्वर–कलंकी सडक खण्डअन्तर्गत बालकुमारी क्षेत्रमा सडक जाम गरेका थिए ।
युवाहरु सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका बेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आएपछि उनीहरुले रोकेको र मन्त्री झरेर रिसाउँदै बाहिरिएको भिडियो समेत सार्वजनिक भएको छ ।
मन्त्री त्यहाँबाट बाहिरिएपछि प्रदर्शनकारीले टायरको हावा फुत्काएर आगो लगाइदिएका थिए । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठी र अश्रु ग्याससँगै गोली प्रहार गरेको थियो । प्रहरीको बल प्रयोगले २ युवा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।