मन्त्रिपरिषद बैठक : बालकुमारी घटनाको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

१६ पुष २०८०, सोमबार १२:१२

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षामा सहभागि हुन पाउनु पर्ने भन्दै ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा पूर्व न्यायाधीश पौडेलसँगै नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् ।

आयोगलाई यो घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन, विश्लेषण गर्ने कार्यादेश तोकिएको छ । घटनाको कारण र त्यस ठाउँमा गरिएको सुरक्षा प्रबन्ध, सुरक्षा योजनाको अध्ययन गरी भए गरेका कमजोरी पत्ता लगाउन समेत समितिलाई भनिएको छ ।

आयोगलाई बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने कार्यादेश पनि तोकिएको छ । आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेत समेटेर सुझावसहितको प्रतिवेदन काम थालेको १ महिनाभित्र पेश गर्न भनिएको छ ।

कोरिया जान पानीजहाज क्षेत्रका लागि आवेदन भरेका युवाहरुले कोरियामै उत्पादन क्षेत्रमा पनि काम गर्नका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)को फाराम भर्न पाउनुपर्ने मागसहित शुक्रबार बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी–ग्वार्कोमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका युवाहरुले कोटेश्वर–कलंकी सडक खण्डअन्तर्गत बालकुमारी क्षेत्रमा सडक जाम गरी प्रदर्शन गरे ।

युवाहरुले प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी नियन्त्रणमा लिएर आगो लगाइदिएका थिए । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठी र अश्रु ग्याससँगै गोली समेत प्रहार गरेको थियो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दा २ जना युवा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*