‘दुर्बल’बाट बीमाले शक्तिशाली बनाएकी दुर्गा
काठमाडौं । गरे के हुन्न र ? जसको उदाहरण बनेकी छन्, कैलालीको लम्किचुहा नगरपालिका ६ बाहुनपुरकी दुर्गा धामी । जता जे गरे पनि दुःख मात्रै हुन्छ, उपलब्धि केही हुँदैन । गरिबीले उठ्न दिँदैन । स्वदेशमा रोजगारी छैन । परिवारको गर्जो टार्न विदेशिनेका लागि एउटा संघर्षको नाम हो, दुर्गा । स्वदेश मै पनि केही गर्न सकिन्छ भन्नेहरुका लागि प्रेरणाको भण्डार हुन्, उनी ।
तिनै दुर्गा, जसले असफलतालाई सफलतामा परिणत गरेकी छन् । कष्ट र अभावको जीवनलाई सयलमा परिणत गरेकी छन् । स्वदेशमा पैसा कमाउन सकिन्न । त्यसमा पनि महिलाहरूले के नै गर्न सक्छन् ? भन्ने पराजित मानसिकतालाई गलत सावित गरेकी छन, दुर्गाले ।
को हुन दुर्गा ?
कैलालीको लम्किचुहा नगरपालिका– ६ बाहुनपुरको विपन्न परिवारमा जन्मिएकी दुर्गाले कष्टपूर्ण बाल्यकाल विताइन् । आर्थिक विपन्नता, अशिक्षा र सामाजिक अपहेलनाले थिचेर राखेको थियो उनको परिवारलाई । नाम दुर्गा भए पनि, परिस्थितिले दुर्बल थिईन्, उनी ।
जनयुद्धको समयमा बुबालाई तत्कालीन विद्रोही माओवादीले बेपत्ता पारेपछि बेसहारा बनेको दुर्गाको परिवारलाई एक छाक टार्न पनि मुस्किल बन्यो । ६ कक्षामा अध्ययन गर्दा गर्दै चरम आर्थिक विपन्नताले पढाई छोड्नु पर्ने बाध्यता आइलाग्यो । सामान्य भन्दा सामान्य आवश्यकता परिपूर्तिका लागि पनि उनलाई धौ पर्न थाल्यो । अभावकै बीच १५ वर्षको कलिलो उमेरमा गाउँकै गणेश धामिसँग विवाह हुन पुग्यो ।
विवाह गरेको वर्ष दिन मै उनी आमा बनिन् । झन् जिम्मेवारी थपियो । अहिले उनको छोरी नै १३ वर्षकी छन् भने १० वर्षीय छोरा छ ।
दुर्गा विगत सम्झिँदै भन्छिन्, ‘यहि गाउँमा जन्मिए हुर्किए । घरायसी समस्याले बुवा आमाबाट टाढा थियौँ । धेरै दुःख कष्ट भोग्यौँ । १५ वर्ष पनि कसरी कट्यो थाहा छैन । बुबा आमा हुँदा पनि टुहुरा जस्तै थियौँ । विवाह गर्नै पर्ने बाध्यता भयो । विवाह गरेर पनि पढ्ने अवसर पाएन मलाई कसैले पढ्न पनि भनेन । घरको चुलो चौकोमै सीमित भएँ । छोरा छोरी हुर्काउँदैमा उमेर गयो ।’’
‘पढ्नलाई उमेरले छेक्दैन’
भनिन्छ, परिश्रम र धैर्यताको फल मीठो हुन्छ । आत्तिनु हुँदैन, एक पटक सबैको समय आउँछ । दुर्गाको जीवनमा पनि १२ वर्षमा खोलो फर्कियो भने झैँ भयो । कष्टकर बाल्यकाल र वैवाहिक जीवन विताएकी उनी भविष्यको चिन्ता गर्न थालिन् । र, गाउँमा रहेका बचत समूहमा आवद्ध थिइन् ।
भाग्यको द्वार कतिखेर खुल्छ, थाहा हुँदैन । महिला समूहको बैठक चलिरहेका बेला एक दिन बीमा अभिकर्ताहरु आए । महेन्द्रनगरबाट आएका बीमा अभिकर्ता नन्दराज विष्टले सुरुमा छोरीको बीमा गराउनुस्, भनेको अहिले पनि सम्झिन्छन्, दुर्गा ।
जवाफमा उनले भनिन्, ‘गर्न त म छ सर । तर के गर्नु पैसा छैन ।’ बीमा अभिकर्ता बिष्टले समूहबाट कर्जा लिन सुझाव दिए । दुर्गा अगाडि भन्छिन्, ‘मौसमी कर्जा बीस हजार ऋण लिएर मैले छोरीको बीमा गराएँ । अनि अन्य २१ जनाको बीमा पनि मैले विष्ट सरलाई दिलाए ।’
बीमा गराउन सक्ने क्षमताबाट प्रभावित भएर अभिकर्ता विष्टले आफुलाई समेत बीमा अभिकर्ता बन्न सुझाव दिएको दुर्गाले सुनाईन् । बीमा अभिकर्ता बिष्टले भनेको सम्झिँदै दुर्गाले थपिन्, ‘तपाईँले गर्न सक्नुहुन्छ भन्नुभयो । र, अनि रिलायवल नेपाल लाइफ इन्सोरेन्स कम्पनीमा लगेर बीमाबारे सिकाउनुभयो ।’
अनि दुर्गालाई पनि गर्न सक्ने आँट आयो । त्यो हुटहुटीले दुर्गाको पढ्ने धोको समेत पूरा गरिदियो । बीमा अभिकर्ता बन्न एसएलसी पास भएको हुनुपर्ने, दुर्गासँग भने ६ कक्षा पढेको मात्रै सर्टिफिकेट भयो । उनकी बहिनी पार्वतीले १० कक्षा उत्तीर्ण गरिसकेकी थिईन् । दुर्गाले बहिनीको नामबाटै बीमामा पाइला टेकिन् ।
पार्वतीको नामबाट दुर्गाले काम गर्न थालिन् । उनलाई सफलता मिल्दै गयो । बीमाले आर्थिक अवस्था मजबुद हुँदै गयो । काम भइरहे पनि बहिनीको कोडबाट काम गर्दा नरमाइलो लाग्थ्यो, दुर्गालाई । उनले भनिन्, ‘मेरो पढाइ भएको भए आफ्नै कोड हुन्थ्यो । क्षमता थियो तर योग्यता नहुँदा धेरै अवसरबाट वञ्चित थिएँ । रिलायवल नेपालको लम्की शाखा प्रमुख, प्रदेश प्रमुखलगायत सरहरूले पढ्न सुझाव दिएपछि म भित्र पढ्ने हुटहुटी जाग्यो ।’
बीमाको कर्मसँगै उनले पढ्न थालिन् । गाउँमै रहेको चौरीपुर माध्यमिक विद्यालयमा कक्षा सातमा भर्ना भईन् । उनले ४ वर्षमा ११ कक्षा उत्तिर्ण गरेर १२ कक्षामा अध्ययन गरिरहेकी छन् । ४ वर्ष भने उनले बहिनीको कोडबाटै बीमा अभिकर्ताको काम गरिन् । अहिले आफ्नै कोड छ ।
अहिले दुर्गाको आर्थिक अवस्थामा आकाश जमिन फरक भएको छ । आफ्नो कागजातबाट दिदीको सफलता देखेर पार्वती पनि खुसी छन् । दुर्गा र पार्वती दुबैको परिवारमा खुसीयाली छाएको छ । दुर्गाले पढाइलाई अझै निरन्तरता दिने संकल्प लिएकी छन् ।
सपना जस्तै जीवन…
केही समयअघि गर्जो टार्नै धौ पर्ने दुर्गा अहिले लम्की क्षेत्रमा हुनेखानेहरूमा गनिन्छिन् । ऐश, आरामको जिन्दगी छ । आफू र आफ्ना परिवारका सबै रहर पुरा भइरहेका छन् । रिलायवल नेपाल लाइफ इन्सोरेन्समा जोडिएको ६ वर्षको अवधिमै उनले लम्की मै जग्गा किनेकी छन् । दुई वटा स्कुटर फेरिसकेकी छन् ।
छोरा छोरीलाई दरिएकै पाठशालामा पढाइरहेकी छन् । ‘मैले घर परिवारका सबै जनाको बीमा गरिदिएकी छु । उनीहरुको इच्छा मारेकी छैन । जति त्याग गर्नु मैले हिजैका दिनमा गरिसँके । हिजो एक छाक मीठो खानलाई मैले हजार पटक सोच्नु पर्दथ्यो । एक जोर राम्रो लुगा किन्न वर्ष कुर्नु पथ्र्याे । तर, अहिले आवश्यक परेको सेकेन्ड भरमै परपूर्ति हुने अवस्थामा पुगेकी छुँ’ दुर्गाले भनिन् ।
दुर्गा अहिले आफ्नै कोडबाट एमडीआरटी बनिसकेकी छन् । बहिनीको कोड पनि सक्रिय छ । शिक्षण पेशामा सक्रिय उनकी बहिनी पनि सिनियर एजेन्सी म्यानेजरको पारिश्रमिक लिइरहेकी छन् ।
दुर्गाले अगाडि भनिन्, ‘आफ्नै कोडबाट ‘एमडीआरटी’ बन्ने मेरो सपना थियो, त्यो पनि पूरा भएको छ । गत वर्ष पनि म ‘एमडीआरटी’ बन्ने लाइनमै थिए तर अन्तिम समयमा पुरा गर्न सकिँन । यो वर्षमा लक्ष्य पूरा गरेँ । मलाई रिलायवल नेपाल लाइफले बाच्न सिकायो, आफ्नै खुट्टामा उभिएर आर्थिक विपन्नताले टुटाएको पढाई फर्कायो । अबको बाँकी जीवन पनि म यसै बीमा कम्पनीमा काम गरेर बिताउँछु’ दुर्गाले भनिन् ।