घलेम्दी हाइड्रोको हकप्रद शेयरमा आवेदन भर्ने आज अन्तिम दिन
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको २०० प्रतिशत हकप्रद शेयरमा आवेदन भर्ने आज (पुस १६ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले १ः२ अनुपातमा शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरिसकेको छ । जस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। यसको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
आवेदकले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।
हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत शेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो । छुजुङ खोला जलविद्युत आयोजना सांग्रिला उर्जा प्रालिद्वारा प्रवर्द्धित कम्पनी हो ।