मन्त्रीलाई पार्टीको बैठकमा छोडेर कता हिडेको थियो गाडी ?
काठमाडौं । इपीएस परीक्षामा सामेल नगराएको भन्दै प्रदर्शनका उत्रिएका युवाहरुले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको गाडी नियन्त्रणमा लिएर आगजनी गरिदिएका छन् । शुक्रबार मन्त्री ज्वालालाई पार्टी केन्द्रीय कमिटीको बैठकस्थल बालकुमारीको कान्तिपुर ब्याङ्क्वेटमा छोडेर मन्त्रालय फर्किँदै गरेको गाडी प्रदर्शनकारीले नियन्त्रणमा लिएर आगजनी गरेको बताइएको छ ।
ज्वालका प्रेस विज्ञ जीवन बीसी र स्वकीय सन्तोष बीसी दुबैका अनुसार केन्द्रीय कमिटीको बैठकको अन्तिम दिन भएका कारण अबेरसम्म गाडी बैठकस्थलमा नराख्ने भनेर मन्त्रालय फर्काइएको थियो । मन्त्री ज्वालालाई बैठक स्थलमा छोडेर फर्किँदा गाडीमा ड्राइभर मात्रै रहेको प्रेस विज्ञ जीवन बीसीले बीमापोष्टलाई बताए ।
यद्यपि, चालक आफुखुसी बैठकस्थलबाट गाडी लिएर हिँडेको समेत बताइएको छ । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वालाले बैठक अबेरसम्म चल्न सक्ने भन्दै चालकलाई गाडी मन्त्रालयतिरै लगेर राख्न भनेको र फर्किंदा प्रदर्शनकारीको लवेटमा परेको स्वकी सन्तोष बीसीले बताए ।
मन्त्रीलाई अकस्मात कतै निस्किनु पर्दा मन्त्रालयबाट गाडी आउँदासम्म कुर्ने, मन्त्री भएकै ठाउँमा राखिरहनु पर्ने होइन ? जवाफमा बीसीले भने, ‘छोटो समयका लागि भए त्यो ठीक कुरा हो । मन्त्री ज्यू मन्त्रालयको विभागीय काममा गएको पनि होइन । पार्टीको बैठकमा जानु भएको हो । बैठक राति अबेरसम्म चल्न सक्छ । गाडी, र चालकलाई किन कुराइरहनु भनेर मन्त्रालय फर्काइएको हो ।’