गभर्नर अधिकारीविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर दायर रिटको पेशी न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा परेको छ । शुक्रबार प्रारम्भिक सुनुवाइका लागि पेशी चढेको रिट ३ जना अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र डडेल्धुराका चुडामणि भण्डारी समेतले दायर गरेका हुन् ।
राष्ट्र बैंकको गभर्नर हुन अधिकारीले आवश्यक पर्ने शैक्षिक योग्यता हासिल नगरेको जिकिर रिटमा गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० (ग)मा राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर र सञ्चालक हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने भनिएको छ । तर, अधिकारीले स्नातकोत्तर ९मास्टर्स०को शैक्षिक उपाधि हासिल नगरेको जिकिर रिटमा गरिएको छ ।