विद्युतको अर्बौँ बक्यौता नतिर्ने उद्योगीलाई कुलमानले दिए दुई विकल्प
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको बक्यौता नतिरेका उद्योगीलाई दुई विकल्प दिएका छन् । बक्यौता विवादबारे बिहीबार पत्रकार सम्मेलन गरेर उनले २५ प्रतिशत महसुल तिरेर पुनरावेदनमा आउन सक्ने र किस्ताबन्दीमा तिरेर अघि बढ्छु भन्न पनि पाउने भन्दै बक्यौता तिर्न बाँकी उद्योगीहरुलाई दुई विकल्प दिएका हुन् ।
उनले प्राधिकरणसँग आवश्यक सबै कागजात सुरक्षित रहेको बताउँदै दुई विकल्प बाहेक अन्य कुरामा प्राधिकरणले तत्काल कुनै सम्झौना नगर्ने जिकिर गरे । उनले भने, ‘२५ प्रतिशत महसुल तिरेर पुनरावलोकन प्रक्रियामा आउँछु भन्न पनि पाइयो । इन्स्टलमेन्ट अर्थात् किस्तामा तिरेर अघि बढ्छु भन्न पनि पाइयो । यो भन्दा धेरै अहिलेलाई केही भन्न सकिन्न ।’
घिसिङले बक्यौता भने कुनै पनि हालतमा उठाइने र महसुल नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने बताए ।