विराटनगरमा हप्तादिन नपुग्दै फेरि समातियो २० लाख ‘हुण्डी’
काठमाडौं । विराटनगरबाट प्रहरीले स्रोत नखुलेको झण्डै २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको देवानगन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहबाट प्रहरीले १९ लाख ९० हजार रुपैयाँ बरामद गरेको हो ।
एकैसाथ ठूलो रकम नगदै लिएर हिँडेका उनले त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद नगद र मोटरसाइकलसहित उनलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले इटहरीस्थित राजस्व अनुसान्धान कार्यालयमा बुझाएको छ ।
यसअघि पनि प्रहरीले गएको साता १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको थियो । विराटनगर–७ जिल्ला प्रशासन रोडबाट विराटनगर–१५ रानी बस्ने ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार रुपैयाँसहित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।