थप ९ कम्पनीले आईपीओ निष्काशन गर्दै, कसको कति कित्ता ?
काठमाडौं । विभिन्न क्षेत्रमा रहेर आफ्नो व्यवसाय गरिहेका थप ९ कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेका छन् । ती कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशनको अनुमतिका लागि निवेदन दिएका छन् ।
डिश मिडिया नेटवर्क लिमिटेड, बेनी हाइड्रोपावर, यामलिङ हाइड्रोपावर, एपेक्स हस्पिटालिटी लिमिटेड, एसवाई प्यानल नेपाल, ओर्चिड होल्डिङ्गस लिमिटेड, बिकास हाइड्रोपावर, राइज लाइन इनर्जी लिमिटेड, लाफिङ बुद्ध पावर नेपाल र ह्याम्स हस्पिटल आईपीओ निष्काशनको स्वीकृति पर्खिरहेका छन् ।
डिश मिडिया नेटवर्कले १ करोड ३५ लाख कित्ता बराबर १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँको आईपीओ निष्काशनका लागि अनुमति माग गरेको छ । जसले बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
बेनी हाइड्रोपावरले २० लाख ८० हजार कित्ता बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । आईपीओबाट कम्पनीले २० करोड ८० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । बेनी हाइड्रोले एनएमबि क्यापिटलाई बिक्री प्रबन्धक चयन गरेको छ ।
यामलिङ हाइड्रोपावर कम्पनी लिमिटेडले पनि २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । जसबाट कम्पनीले २० करोड ८० लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता, एसवाई प्यानल नेपालले ५२ लाख ३२ हजार कित्ता, ओर्चिड होल्डिङ्गस लिमिटेड एक करोड १५ लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डको स्वीकृति कुरिरहेका छन् ।
त्यस्तै, विकास हाइड्रोपावरले ४४ लाख ५४ हजार कित्ता, राइज लाइन इनर्जीले ५८ लाख ४ हजार कित्ता, लाफिङ बुद्ध पावर नेपालले ६५ लाख ७७ हजार कित्ता र ह्याम्स हस्पिटलले ११ लाख २५ हजार कित्ता बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् ।