टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको लेखा समितिको ठहर, छानविनका लागि अख्तियारलाई निर्देशन
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले टेरामक्स खरिदमा कानूनी प्रक्रिया मिच्नेदेखि राज्यलाई हानी नोक्सानी गर्ने कार्य गरेको देखिएको भन्दै अनुसन्धानका लागि अख्तियारलाई निर्देशन दिएको हो । समितिले टेरामक्स खरिद प्रक्रियामा संलग्नमाथि मसिनो ढंगले अनुसन्धान गर्न भनेको छ । समिति सभापति ऋषिकेस पोखरेलले टेरामक्सको खरिद र कार्यान्वयन प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिँदै यसमाथि मिहिन ढंगले अनुसन्धान गर्न समेत निर्देशन दिइएको बताए । अहिले पनि अख्तियारले अनुसन्धान जारी नै राखेको अवस्था छ ।
समितिले अनुसन्धानको प्रगती विवरण समेत पेश गर्न समेत भनेको छ । लेबनानी कम्पनीसँग टेरामक्सको हार्डवेयर र सफ्टवेयर खरिद प्रक्रियामा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अधिकारको दुरुपयोग गरे/नगरेको बारे पनि अनुसन्धान गर्न आयोगलाई निर्देशन दिइएको छ । खरिद प्रक्रियामा संलग्नहरुले राज्यलाई हानी नोक्सानी हुने गरी सम्झौता गरेको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाही गर्नुपर्ने समितिको माग छ ।