भिजिट भिसामा मानव तस्करी गर्ने वायुसेवा निगम र नेपाल एयरलाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गिरोहलाई सघाउने नेपाल वायुसेवा निगमका कर्मचारी र नेपाल एयरलाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा थप १० जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । यसरी मुद्दा दर्ता गरिका १० जना मध्ये २ जना भने फरार छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजातको आधारमा भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउने गरको आरोपमा सरकारी कर्मचारीदेखि विभिन्न ट्राभल एजेन्सीका सञ्चालकलाई पक्राउ गरेर थप अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो । परिसर काठमाडौंले थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेसँगै सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।
नेपाल एयरलाइन्सको छैटौं तहमा कार्यरत होमनाथ पोख्रेल, नेपाल वायु सेवा निगमको वरिष्ठ सहायक पदमा कार्यरत अरबिन्द यादव, बत्तीसपुतलीको ओन्टा ट्रिप अनलाइन ट्राभल्स एजेन्सी प्रालिका सञ्चालक मनुराज चौधरी, एटभिका ट्राभल्स एण्ड टुर्सका सञ्चालक बुद्धबहादुर बल, एटभिकाका अर्का सञ्चालक तथा गुण एयरलाइन्सको सिमरा एअरपोर्टका स्टेशन म्यानेजर कमलराज हमाल, रोलेक्स ट्राभल्स एण्ड टुर्सका सञ्चालक देवराज खनाल, सोही ट्राभल्सका कर्मचारी राजकिशोर साह, अर्का कर्मचारी सञ्जय तामाङलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
सुशील तामाङ र सोनु तामाङ भने फरार छन् । उनीहरुलाई मुद्दामा फरार प्रतिवादी बनाएर फिराद हालिएको छ । योसँगै नक्कली कागजताको आधारमा भिजिट भिसाको आवरणमा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा मुद्दा दर्ता हुनेको संख्या २२ पुगेको छ । यसअघि ९ जना पक्राउ प्रतिवादी र ३ जना फरार प्रतिवादी गरी १२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।