माफिया ग्याङका लागि धमाधम श्रमिकमारा निर्णय गर्दै भण्डारी, रोहिंग्यालाई नेपाली पासपोर्ट दिलाउने गिरोहसँग पनि साँठगाँठ

१० पुष २०८०, मंगलवार १०:४८

काठमाडौं । वैदेशिक रोजगारका नाममा ठगि गर्दै हिँड्ने गिरोहको चंगुलमा परेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकमारा निर्णय गरेपछि चौतर्फी विरोध भएको छ ।

रोहिंग्या शरणार्थीलाई नेपाली पासपोर्ट दिलाउने गिरोह समेतको मेजमानमा पटक-पटक सरिक भएका मन्त्री भण्डारीले माफिया ग्याङकै प्रभावमा परेर वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले लिने पूर्वअभिमुखीकरण तालिमको शुल्क चार गुणा बढाउने निर्णय गरेपछि चौतर्फी विरोध भएको हो । उनले ऐन कानूनलाई समेत ख्याल नगरेर स्वार्थ समूहलाई फाइदा पुग्ने किसिमले निर्णय गरेका छन् ।

यसअघि पूर्वअभिमुखीकरणका लागि ६-६ घण्टाको २ दिन कक्षा लिँदा वैदेशिक रोजगारमा जानेहरुले ७ सय तिर्दै आएका थिए । अहिले त्यो ३ दिन अर्थात् १८ घण्टा भएको छ भने शुल्क २८ सय भएको छ । यसलाई मन्त्री तथा उनका आसेपासेले समयानुकुलको हेरफेर भनेका छन् भने श्रमिक अधिकारका लागि काम गर्नेहरुले श्रमिकमाथिको ज्यादती भनेका छन् ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २५ को उपनियम (२) का अनुसार बोर्डमा जम्मा हुने रकममध्ये २५ प्रतिशत रकम वैदेशिक रोजगार व्यवसाय प्रवद्र्धनमा खर्च गर्न पाउने अधिकार वैदेशिक रोजगार विभागलाई दिइएको छ । त्यो रकम खर्च गर्ने अवस्था हुँदा हुँदै श्रमिकको कल्याणकारी क्षेत्रमा मात्रै खर्च गर्न मिल्ने कोषको रकम वैदेशिक रोजगार व्यवसाय व्यवस्थापनका नाममा खर्च गर्ने निर्णय गर्नु श्रमिक वर्गप्रति कुठाराघात भएको बताइएको छ ।

विश्वस्त स्रोतका अनुसार मन्त्री भएको केही महिनादेखि मन्त्री भण्डारीलाई रोहिंग्या शरणार्थीलाई नेपाली पासपोर्ट दिलाउने गिरोह निरन्तर पछ्याइरहेको छ । रोहिंग्यालाई पासपोर्ट दिलाउने गिरोहको नेतृत्व ‘प्रकाश’नाम गरेका व्यक्तिले गरिरहेका बताइएको छ । यो विषय गृह मन्त्रालयलाई जानकारी भए पनि सत्तागठबन्धका कारण लुकाइरहेको छ ।

इपिएस कोटामा कोरिया जाने श्रमिकलाई एलजीको पोस्टपेड सिम र अंग्रेजी भाषा अनिवार्य उत्तीर्ण गर्नुपर्ने निर्णय समेत उनले गरेका छन् । गिरोह कै चुंगुलमा परेर यसअघि सीटीइभीटीबाट मान्यता प्राप्त संस्थाहरुले लिइरहेको केयर गिभरको तालिमका लागि पनि यो पल्ट वैदेशिक रोजगार विभागबाट संस्था छनोटको बहानामा घुस खाने संयन्त्र खडा गरेका छन् ।

इजरायलका लागि छनोट गरिने केयरगिभरले पनि अब रोजगार विभागले स्वीकृति दिएका संस्थाहरुबाट अनिवार्य तालिम लिनुपर्ने छ । तालिम र सर्टिफिकेटका नाउँमा त्यहाँ पनि अरर्बौँ कमाउने प्रपन्च रचिएको छ । इजरायलमा द्वन्द नभड्किएको भए अहिलेसम्म ठगीको उक्त श्रृंखला सुरुभसक्ने यस मामिलाका एक जानकारले बीमापोष्टलाई बताए ।

यस्तै, भण्डारीलाई विभिन्न श्रमिक संगठनका नाममा घेर्न आउनेहरुले समेत माफिया ग्याङसँग नियमित भेटाउने काम गरिरहेका छन् । श्रमिक संगठनका पदाधिकारीहरु आफैं श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागको गेटमा बसेर वैदेशिक रोजगारमा जानेहरुलाई ठगिरहेका बताइन्छ ।

मन्त्री भण्डारी कै सचिवालयका सरकारी स्वकी सचिवले नै म्यानपावर व्यवसायीसँग कामधन्दा तथा विजनेश मागिरहेका भेटिएको छ । विदेस्थित काउन्सिलरसँग राम्रो सम्बन्ध बनाइदिने नाउँमा म्यानपावर व्यवसायीको खर्चमा सपरिवार विदेश शयरमा गएको समेत रेकर्ड भेटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*