ब्रोकर कम्पनीहरुको संयुक्त प्रयासमा नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनको तयारी, वाइकोको एकाधिकार तोडिदै
काठमाडौं । ब्रोकर कम्पनीहरुको संयुक्त प्रयासमा नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनको तयारी गरेको छ । पुराना ३३ ब्रोकर कम्पनी र १ नयाँ ब्रोकर कम्पनी नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनका लागि तयार गर्ने भएको छ । डीजीहवले टीएमएस प्रणाली सञ्चालनमा ल्याउने भएको हो ।
जनवरीको पहिलो साताबाट परिक्षणको तयारी भएको ब्रोकर एशोसियनले जनाएको छ ।
धितोपत्र कारोबार सञ्चालन नियमावलीमा नयाँ टीएमएस सञ्चालन ल्याउनुभन्दा एक महिनाअगाडि नै परिक्षण गरिसक्नुपर्ने व्यवस्था छ। यही डिसेम्बरमा परिक्षण गर्ने भनिएको भएपनि नेप्सेमा बिजुलीको समस्याका कारण परिक्षण हुन सकेन।
नेप्सेको अनलाइन प्रणाली सञ्चालन ल्याउँदा ब्रोकर कम्पनीहरूलाई आफै टीएमएस सञ्चालन गर्नका लागि नेप्सेले आग्रह गरेको थियो। तर ब्रोकर कम्पनीहरूले क्षमता नपुग्ने भन्दै नेप्सेलाई प्रणाली बनाइदिन भनेका थिए।
ब्रोकर कम्पनीहरूको आग्रहपछि नेप्सेले वाइको कम्पनीसँग मिलेर हालको टीएमएस प्रणालीमा सञ्चालनमा ल्याएको थियो।
ब्रोकर कम्पनीले आफ्नो ग्राहकको रुचीअनुसार सुविधा राखेर टीएमएस ल्याउन नेप्सेले ब्रोकर कम्पनीलाई त्यसबेला सुझाएको थियो। प्रत्येक ब्रोकर कम्पनीले आफ्नो आवश्यकताअनुसार टीएमएसको प्रविधि राख्न नेप्सेले सुविधा दिएको थियो।
सबै ब्रोकर कम्पनीले प्रविधि भित्र्याउन नसकेपछि नेप्सेको टीएमएस सञ्चालन गरिरहेका छन्। ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रयोग गरेमा नेप्सेलाई बुझाउने शुल्कमा पनि छुट दिएको छ।