आरती साह मृत्यु प्रकरण : श्रीमान मोतिबाबुलाई फेरि पक्रियो प्रहरीले
काठमाडौं । आरती साहको मृत्यु प्रकरणमा उनकै श्रीमान् मोतिबाबु साह फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले मोतिबाबुलाई पक्राउ गरेको हो । सर्वोच्च आदलतका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले मंसिर २० मोतिबाबुलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएसँगै मोतिबाबु पक्राउ परेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका-९ स्थित आफ्नै घर थापाचोकमा गएको जेठ ७ गते मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको उल्लेख गर्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले गएको असार १ गते धनुषा जिल्ला अदालतमा ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो । अदालतले थुनछेक बहसपछि गएको असार ५ गते आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो । सोहीविरूद्धको विवाद सर्वोच्च अदालत पुगेको थियो ।
आरती र मोतीबाबुबीच असार २०७७ असार २९ गते विवाह भएको थियो । दाइजोको निहुँमा पति र ससुराले धेरै यातना दिँदा आरतीको मृत्यु भएको माइती पक्षको आरोप छ । छोरीको मृत्युपछि आरतीका बुबा आमा लामो समय काठमाडौंको माइतीघरमा धर्ना बसेका थिए ।