प्रिमियममा आईपिओ बापतको रकम कोर पुँजिको रुपमा गणना दिने तयारीमा बीमा प्राधिकरण, लाभांशको रुपमा बाड्न नपाइने
काठमाडौं । बीमा कम्पनीहरुले हालै जारी गरेको प्रिमियम मूल्यका आईपिओबाट संकलित थप रकम कोषमा राख्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले प्रिमियम बापत संकलन गरिएको रकम तत्कालै मुनाफाको रुपमा लाभांश वितरण गर्न नदिने तर चुक्ता पुँजि नपुगेका कम्पनीहरुलाई पुँजिको रुपमा गणना गर्न दिने भएको छ ।
नेपाल बीमा प्राधिकरणका प्रबक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडलले बीमापोष्टसँग भने, ‘पुँजि पुर्याउनै नसकेका बीमा कम्पनीहरुलाई प्रिमियमबाट रकम संकलन गरिएको रकम पुँजिको रुपमा गणना गर्न दिई चुक्ता पुँजिको सीमा पुरा गरेको मान्यता दिन सकिन्छ ।’
प्राधिकरणले त्यसरी चुक्ता पुँजि पुगेका बीमा कम्पनीहरुलाई विगतमा आर्जित मुनाफा बापतको रकम लाभांश वितरण गर्न दिने जनाएको छ । एकाथरी शेयरधनीहरुबाट उठाएको रकम अर्कोथरी शेयरधनीहरुलाई लाभांश बापत वितरण गर्न पाइने कि नपाइने भन्ने बहस चलिरहेको बेला प्राधिकरणले भने चुक्ता पुँजि नपुगेका बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने प्रयोजनको लागि कोर पुँजिको रुपमा गणना गर्न दिने सम्बन्धमा प्राधिकरणले तयारी गरिरहेको छ ।
चुक्ता पुँजि नपुगेको र प्रिमियममा आईपिओ जारी गरेका बीमा कम्पनीहरु सिटिजन लाइफ, आइएमई लाईफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफको चुक्ता पुँजि पाँच अर्ब पुर्याउन प्रिमियम बापत संकलित रकम गणना गर्न पाउने छन् । त्यस्तो रकम उनीहरुले खर्च गर्न वा लाभांश वितरण गर्न भने पाउने छैनन् । कोषमा संचित गरेर राख्नुपर्नेछ ।
कोषमा संचित रकम चुक्ता पुँजि सरह गणना गर्न पाउने भएसँगै चार कम्पनीहरुले विगतमा आर्जित मुनाफा लाभांश बापत विरण गर्न पाउनेछन् ।