सीजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी

८ पुष २०८०, आईतवार ११:५०

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । पटक-पटक अनुरोध गर्दा समेत आफ्ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन् ।

कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको, धुलोधूवाँ गराएको र कम्पनीले आफ्ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीयले बताएका छन् ।

रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष दानबहादुर पौडेल, स्थानीयबासिन्दा र कम्पनीका प्रतिनिधिबीच छलफल भइरहे पनि सहमति हुन नसक्दा युवाहरुले कार्यालयमा ताला लगाएको बताइएको छ ।

सीजी सिमेन्टका प्रतिनिधि पदमबहादुर सिंहले सुरुवाती चरणका काम भइरहेकाले केही समस्या भएको स्वीकार्दै केही समयमा प्राविधिक बोलाएर समस्या समाधान गर्ने प्रतिक्रिया दिएका छन् ।

गाउँको शिक्षा, स्वास्थ्य र स्थानीयबासिन्दाको रोजगारीप्रति कम्पनी सचेत रहेको भन्दै उनले स्थानीय बासिन्दाकै सहयोगमा उद्योग चलाउन आफूहक्करु तयार रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*