सूर्यज्योति लाइफले पुरा गर्यो मर्जरको एक वर्ष
काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पहिलो पटक मर्जरको अभ्यास गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष अवधि पुरा गरेको छ।
मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार शुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ। यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ।
चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत बिमितहरुलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीले करिव २३ लाख जीवन बीमालेख बिक्री गरिसकेको जनाएको छ।
कम्पनिमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका र देशै भरि करिब ९४ हजार अभिकर्ता सुर्यज्योति लाइफमा आबद्ध रहेको दाबी कम्पनीले गरेको छ ।
बजारको आवश्यकता र नविनतम सोच अनुसार बीमा योजनाहरु ल्याउने रणनीति अन्तर्गत यस कम्पनीले हालै कम प्रिमियममा नै ठूलो बीमा गर्न सकिने र ७० बर्षको उमेरमा तिरेको सम्पूर्ण रकम फिर्ता हुने साथै रक्षावरण आजीवन रही रहने आजीवन म्यादी बीमा ‘सही प्लान’बीमा योजना सार्वजनिक गरिसकेको उल्लेख गरेको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरुबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाए पछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
बीमाङ्की मूल्याकन, विस्तृत लेखा परिक्षण र साधारण सभापछि यी दुबै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पौष ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार थालेका थिए।