कर्णाली प्रदेशका गैरसरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशमा कार्यक्षेत्र रहेका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीको प्रमुख आतिथ्यतामा गैर सरकारी संस्था तथा ति अन्तरगतका विभिन्न विपद जोखिमसँग जोडिएका परियोजनाका कार्यालय प्रमुखहरू तथा प्रतिनिधीहरु, विभिन्न वित्तीय निकायका प्रदेश प्रमुख तथा प्रतिनिधीसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री जिसीले बीमा क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न तथा तथा यस प्रदेशका जनताको जोखिम व्यवस्थापन गरी आर्थिक सुनिश्चितता प्रदान गर्ने कार्यमा बीमा प्राधिकरणसँग समन्वय गर्न प्रदेश सरकार सधै तयार रहेको बताए । मन्त्री जिसीले कर्णाली प्रदेशको भूगोलमा प्राकृतिक जोखिम लगायत अन्य धेरै प्रकारका जोखिम रहेकोमा त्यसको हस्तान्तरण गर्न बीमालाई समुदायस्तरसम्म कसरी पु¥याउने भन्ने कुरा चुनौतिपूर्ण रहेको बताए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ, कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले शुभकामना मन्तव्य दिँदै बीमालाई फाइदाको रूपमा लिनु भन्दा पनि सेवामुखी र गुणस्तरीय बनाउन जरूरी रहेको बताए । छलफलको क्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिलाई समेट्ने खालको बीमालेख बनाउनुपर्ने, कृषि बीमामा रहेको समस्याहरु पहिचान गरी नागरिकलाई कृषि बीमामा आवद्ध गर्नुपर्ने, सेवा प्रदायक बीमा कम्पनीहरुले ग्रामिण स्तरसम्म सेवा प्रवाह गर्नुपर्ने, बीमाका कार्यक्रमहरुलाई ग्रामिण स्तरसम्म पुयाउनुपर्ने, बीमा दाबी प्रकृयालाई सरलिकृत बनाउनुपर्ने तथा विपद तथा जोखिममा संस्थागत सामाजिक उत्तरदायित्व समेत वहन गर्नुपर्ने कुरा उठाएका थिए ।
स्पाइनल कर्ड इन्जुरी संघका प्रतिनिधि धर्मराज रावलले अपाङ्गता भएका व्याक्तिलाई बीमा गर्दा सहजिकरण गरिदिनुपर्ने तथा अंपागमैत्री बीमालेखहरु समेत बनाउन सुझाव दिए । त्यस्तै हेल्वेटास नेपालका कर्णाली संयोजक टेक बहादुर सिंहले गैर सरकारी संस्थाहरुले बीमाका कार्यक्रम प्रवर्द्धन गर्न तथा बीमितलाई बीमा प्रिमियमा समेत विपन्न वर्गलाई सहयोग गर्न तयार रहेको तर कृषि बीमाका लागि तोकिएका जिल्लामा बीमा कम्पनीले सेवा प्रवाह नगरेको गुनासो गरे ।
त्यस्तै छलफलमा सहभागी गैर सरकारी संस्थाहरु, परियोजना प्रमुखहरु तथा ति निकट संघ तथा महासंघका प्रतिनिधिहरुले बीमाबारे विभिन्न जिज्ञासा तथा सुझावहरु राखेका थिए ।
छलफलको क्रममा उठेका विभिन्न प्रश्न तथा जिज्ञासालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक तथा कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्रमा देखिएका हरेक विसंगतिहरुको सत्यतथ्य जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरे ।
कार्यक्रममा कार्यालय प्रमुख सोडारीले बीमाको अवस्था, जोखिम व्यवस्थापनमा यसको भुमिका, बीमा विकासमा प्रदेश सरकार, गैर सरकारी संस्था तथा वित्तिय संस्थाहरुको भुमिका, प्रदेश सरकार, गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको हुनसक्ने समन्वय लगाएत कर्णाली प्रदेशमा रहेका बीमाका समस्याहरु, समाधानका उपायहरु लगाएतका बीमा सम्बन्धी विषयवस्तु समेटिएको प्रस्तुतिकरण दिएका थिए ।