कृषकको सुरक्षाका लागि कृषि बीमा र पशुपन्छी बीमा एक मात्र विकल्पः बौधीमाई नगरपालिका नगर प्रमुख
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बौधीमाई नगरपालिकाका नगर प्रमुखले बीमाबाट सानो रकम तिरी ठूलो जोखिमको रक्षावरण हुने हुँदा सबैले आफ्नो जीवन र आफ्ना सम्पत्तीहरुको बीमा गर्नु पर्ने कुरामा जोड दिदै कृषकहरुको सुरक्षणका लागि बीमा आवश्यक रहेको हुँदा पालिकामा रहेका हरेक कृषकको जीवन स्तर उत्थान गर्न प्रत्येक कृषकको बाली, पशुपन्छीको बीमा गर्न पालिका तयार रहेको जानकारी दिएका थिए ।
पशुपन्छी बीमाको बीमाशुल्कमा सरकारले दिइरहेको ८०% अनुदानमा बाँकी २०% बीमाशुल्कमा पालिकाले थप ५०% अनुदान दिने समेत प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो। पालिकामा रहेका कुल जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नको संरक्षण र कृषि क्षेत्रलाई आकर्षक बनाउन बीमा राम्रो वकल्प रहेको धारणा राखेका थिए ।
प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयका बारेमा बताएकी थिइन् ।
प्राधिकरणले पुस ५ गते रौतहट जिल्लाको बौधीमाई नगरपालिकासंग नगर कार्यपालिकाको सभा हलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव, विशेष अतिथिको रुपमा नगर उप–प्रमुख प्रमिला देवी, अतिथिको रुपमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद राय यादव र विभिन्न वडाका वडाध्यक्षहरु रहेका थिए ।