क्रिसमसका नाममा धर्म प्रचार गर्दै काठमाडौंका प्राइभेट स्कुल, ट्रिटनले पठायो अभिभावकलाई चिठी

६ पुष २०८०, शुक्रबार ११:५२

काठमाडौं । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि मनाइने ‘क्रिसमेस डे’ मनाउने चलन बढेसँगै नेपालमा धर्म प्रचारका अनेक रुपहरु देखा पर्न थालेका छन् । ‘क्रिसमस’ आउनु एक महिना अघिदेखि नै काठमाडौं लगायत विभिन्न शहरहरुमा माहोल क्रिसमसमय पार्न थालिन्छ ।

त्यसैलाई केन्द्रीत गर्दै ‘काठमाडौं महानगर प्रमुख अर्थात् मेयर बालेन्द्र साह ‘बालेन’ले महानगरभित्रका कुनै पनि सपिङ मल तथा व्यवसायिक स्टलहरुमा प्लाष्टिकका क्रिसमस ट्री’नराख्न भने । तर, पनि धेरैले उनको आग्रहलाई टेरेनन् ।
हुँदा हुँदा उनकै महानगरभित्र सञ्चालित स्कुलहरुले क्रिसमस सेलिब्रेसनका लागि विद्यार्थी र अभिभावकलाई बाध्य पार्ने खालका गतिविधि बढाएपछि महानगरको शिक्षा विभागले चेतावनीपूर्ण चिठी नै लेखेको छ ।

काठमाडौंमा सञ्चालित केही संस्थागत एवं प्राइभेट स्कुलले विद्यार्थीलाई ‘परी’ वा ‘सान्टा क्लाउज’को पोसाकमा आउन बाध्यात्मक उर्दी जारी गरेपछि महानगरले एक्सन लिनु परेको हो । ‘सान्टा क्लाउज’ क्रिसमसमा लगाइने रातो स्वेटर र सेतो धर्सा भएको टोपीसहितको पोसाक हो । बोर्डिङ स्कुलले विद्यालयमा क्रिसमस सेलिब्रेसन गर्न विद्यार्थीसँग पैसा उठाएको समेत गुनासो आएको छ । जुन महानगरको परिपत्रले पुष्टि गरिसकेको छ ।

कतिपय प्रभाइभेट स्कुलले अभिभावकलाई पठाइएको सूचनामा क्रिसमस शुल्क र पोसाक अनिवार्य गरिएको भेटिएको छ । त्यसरी अभिभावकलाई सूचना पठाउनेमध्ये तीनकुनेस्थित ट्रिटन इन्टरनेशनल स्कुल समेत छ । उसले ७–८ वर्षदेखि यसरी नै क्रिसमस सेलिब्रेसन गर्दै आएको बताउँदै सूचना पठाएको भए पनि विद्यार्थीलाई बाध्यात्मक रुपमा क्रिसमस पोसाक लगाउन नभनेको प्रतिक्रिया दिएको छ ।

ट्रिटन इन्टरनेशनल स्कुलकी डाइरेक्टर ममता शाहले भनिन्, ‘हामीले क्रिसमस पोसाक अनिवार्य लगाउनै पर्ने भनेर भनेका छैनौं । सम्भव भए लगाएर आउनुसम्म चाँहि भनेका हौं । र, क्रिसमस पोसाकका लागि रकम मागेको कुरा झुठो हो । हामीले सूचना मै प्रष्ट भनेका छौँ । १०० रुपैयाँ भन्दा बढी मूल्यको गिफ्ट स्वीकार गरिने छैन भनेर । हामीले विद्यार्थीको सजिलोका लागि १०० रुपैयाँभन्दा बढीको गिफ्ट ल्याए गेटबाट भित्र नछिराउने भनेका छौँ । पैसा उठाउने कुरा धेरै परको कुरा हो ।’

स्कुलमा आइरहेको आर्थिक सहयोगबारे कुरा गर्दा उनले टेलिफोनमा भन्न नमिल्ने र स्कुलमै आएर कुरा गर्न आग्रह गरिन् । नागरिक अगुवाहरुले चाडपर्वका नाममा विद्यालयमार्फत धर्म प्रचार गर्ने कुरा राम्रो नभएको बताउँदै आएका छन् ।
नागरिक अगुवा खेमराज रेग्मीले चाहे हिन्दु धर्मसँग सम्बन्धित चाड् होस् वा अन्य कुनै धर्मसँग सम्बन्धित चाड् त्यसबारे विद्यालय तथा पाठशालामा विरोधाभाष हुने गरेर कुनै गतिविधि गर्न जरुरी नभएको बताए । उनले भने, ‘कल्चर वा धर्म संस्कारबारे पढाउने पाठशाला अलग्गै छन् । जनरल तथा अन्य प्राविधिक विषयको अध्ययन अध्यापन गराउने विद्यालय वा पाठशालामा धर्म, कल्चर वा चाड संस्कारबारे अल्पज्ञान बाँडेर कुनै अर्थ छैन । एकछिनको रमाइलोका लागि सामाजिक, सांस्कृतिक र आर्थिक भार थप्ने कुरा राम्रो होइन । हामी ‘ओभर सिन्सेटिभ’ हुन जरुरी छैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*