फेरियो मापदण्ड, ५० अर्बभन्दा बढी लागतका आयोजना मात्रै राष्ट्रिय गौरवका

५ पुष २०८०, बिहीबार १७:३२

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाको वर्गीकरण तथा मापदण्ड संशोधन गरेको छ । अब सरकारले ५० अर्बभन्दा बढी लागतका आयोजनालाई मात्रै राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गर्ने मापदण्ड ल्याएको छ ।
मन्त्रिपरिषद् बैठकले हालै स्वीकृत गरेको ‘आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०८०’ अनुसार राष्ट्रिय गौरवको आयोजना घोषणा तथा पुनरवलोकन हुन कम्तीमा ५० अर्ब लागत भई विकासको राष्ट्रिय प्राथमिकता र रणनीतिको विषय क्षेत्रभित्र परेको हुनुपर्नेछ ।

नयाँ मापदण्डले तीन वटा तहका सरकारबाट सञ्चालन हुने आयोजनाको दोहोरोपन हटाउने र राज्यको उच्च प्राथमिकताका आयोजनालाई सहजीकरण गर्ने विश्वास लिइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले बताए ।
सरकारले हालसम्म २५ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरेकोमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल गरी तीन आयोजना निर्माण सम्पन्न भएका छन् । अहिले पनि सम्पन्न नभएका राष्ट्रिय गौरवका आयोजनामध्ये कतिपयको लागत १ अर्ब हाराहारी मात्रै छ ।

आयोजना वर्गीकरणको नीतिगत समन्वय गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा आयोगका सबै सदस्य रहेको निर्देशक समिति बन्ने भएको छ । जसमा प्रधानमन्त्री कार्यालय, अर्थ, वन मन्त्रालयका सचिव समेत सदस्य रहने बताइएको छ । प्रदेश सरकारका प्रमुख सचिव, सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष समेत सदस्य रहने बताइएको छ ।

मापदण्ड २०८० ले अब आयोजनाको आयुसमेत तोकेको छ । अब राष्ट्रिय गौरव भनी तोकिएका आयोजना बढीमा १० वर्ष भित्र निर्माण सकिसक्नु पर्ने भएको छ । साना तथा मझौला आयोजना बढीमा ३ वर्ष र ठूला आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा रुपान्तरणकारी आयोजना भनी वर्गिकरणमा परेका आयोजनाको आयु भने बढीमा ६ वर्ष तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*