तीन वर्षदेखि ग्राउण्डेड ५ चिनियाँ जहाज लिलाम गर्दै नेपाल एयरलाइन्स

५ पुष २०८०, बिहीबार १०:५८

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले ५ वटा पुराना जहाज लिलामीको सूचना निकालेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने भनिएको छ ।

गोप्य सिलबन्दी टेन्डरको निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी माघ २१ सम्म छ । निगमसँग ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी थन्किएको छ । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागिएको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।

आन्तरिक उडानका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरेको छ । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ ।

सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो नदिएपछि नेपाल वायु सेवा निगमले भाडामा लगाउन खोजेको थियो । तर, भाडामा लिन कोही पनि आएन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*