राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने मतदाता २०४७ जना

४ पुष २०८०, बुधबार १५:५१

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले सार्वजनिक गरेको स्वीकृत मतदाता नामावली अनुसार कूल २०४७ मतदाता छन् । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट मतदाता नामावली स्वीकृत भएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था अनुसार प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगले जनाएको छ ।

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १४९८ जनाको नामावली स्वीकृत गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन कार्यक्रम बमोजिम पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुने र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने र पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले बताएको छ ।

उल्लेखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकाले २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९,०९७ र उँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*