एनसेल काण्ड ढाकछोप गर्न संसदीय समितिबाटै चलखेल, रामहरि खतिवडामाथि खनिए लेखा समिति सभापति
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल एनसेल प्रकरणबारे अन्य समितिमा छलफल चलेको भन्दै आक्रोश पोखेका छन् । लेखा समितिले उधिनेको एनसेल भ्रष्टाचार काण्डलाई कमजोर बनाउन राज्य व्यवस्था तथा सुशासन समितिले समेत छलफल चलाएको भन्दै पोखरेलले आक्रोश पोखेका हुन् ।
सामाजिक सञ्जालमार्फत् आक्रोश पोख्दै उनले भनेका छन्, “सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिमार्फत् विषय वंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”
उनले मंगलबार अर्को समितिले यस विषयमा छलफल चलाएको भन्दै आक्रोश पोखेका हुन् । मंगलबार राज्य व्यवस्था समितिले प्रधानमन्त्री प्रचण्ड समेतलाई बोलाएर एनसेल प्रकरणमा जवाफ मागेको थियो । राज्य व्यवस्था समितिको सभापति कांग्रेस सांसद रामहरि खतिवडा छन् । खतिवडाले पछिल्लो समय सबैतिर हात हाल्न खोजेको भन्दै आलोचना भइरहेका बेला उनले मंगलबार एनसेल प्रकरणबारे छलफल चलाएका थिए ।
लेखा समिति सभापति पोखरेलले भने, ‘लेखा समितिले नै यो विषयमा सार्वजनिक गरेर सरकारलाई छानबिन गर्न भन्यो, ३० दिनभित्र छानबिन गरेर यथार्थ विवरण पेस गर्नू भन्यो । कानूनमा कतै छिद्र छन् भने हिउँदे अधिवेशनमा विधेयकमार्फत् नै थुन्ने काम गर्नुपर्छ भनेर स्पष्ट भनेको छ ।”
एउटा समितिले थालेको काम अर्को समितिले आफ्नो कार्यक्षेत्रसमेत ख्याल नगरी प्रधानमन्त्रीसहितलाई बोलाउने र प्रधानमन्त्री त्यहीँ गएर यस्तो प्रस्तुति दिने कुराले सरकारी प्रायोजनमा समिति चल्न थालेको देखिने तर्क पोखरेलले गरेका छन् । उनले यो भ्रष्टाचार र भ्रष्टाचारी दुबैलाई ढाकछोप गर्ने षडयन्त्र भएको आरोप समेत लगाएका छन् ।
पोखरेलले खतिवडाको नाम नलिए पनि उनी नेतृत्वको समितिले एनसेल काण्ड ढाकछोप गर्न चलखेल गरेको आरोप लगाएका हुन् । पोखरेलले खतिवडाको नाम नलिए पनि उनी नेतृत्वको समितिले एनसेल काण्ड ढाकछोप गर्न चलखेल गरेको आरोप लगाएका हुन् ।