पुस १० अघि मन्त्रिपरिषद हेरफेर गर्दै प्रचण्ड, दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीहरुसँग गर्ने तयारी

४ पुष २०८०, बुधबार ११:०३

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको एक वर्ष पुग्नु अगावै मन्त्रिपरिषद फेरबदलको तयारी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पूरा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले पुस १० अघि कुनै पनि क्याविनेट सदस्यलाई काठमाडौं नछाड्न निर्देशन दिएसँगै मन्त्रिपरिषद हेरफेरको कसरतले गति लिएको बताइँदै छ ।

यो एक वर्षमा मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै प्रचण्डले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न चाहेको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार ललितपुर महानगरको १५औं वार्षिकोत्सव कार्यक्रममा पनि त्यसको संकेत गरेका थिए । उनले भनेका थिए, ‘मेरो यो कार्यकालको एक वर्ष वित्यो । अब अर्को वर्ष म नयाँ ढंगले काम गरेर देखाउन चाहन्छुँ । दोस्रो वर्ष मेरो काम गर्ने तरिका अलग्गै हुन्छ ।’

उनले प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि संघीय ऐन ल्याउन लागेको र फरक ढङ्गले काम गर्न लागेको समेत सम्बोधनका दौरान बताएका थिए । प्रधानमन्त्री प्रचण्डले पुस १० गतेको विशेष सम्बोधनअघि मन्त्रीहरुलाई काठमाडौं उपत्यका बाहिर जाने कार्यक्रम नबनाउन निर्देशन दिएका बताइएको छ ।

आफ्नो कार्यकालको दोस्रो वर्ष पहिलो जस्तो हुन नहुने सन्देश दिन विभिन्न स्टेप चालिरहेका प्रधानमन्त्री प्रचण्डको पहिलो कदम नै मन्त्रिपरिषद हेरफेर रहेको सचिवालयका एक सदस्यले बताएका छन् ।

अहिले मन्त्रीमण्डलमा रुहेका धेरैले जनतामा आशाको सञ्चार प्रवाह गर्न नसकेको प्रधानमन्त्री प्रचण्डको बुझाइ छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले सेट नै फेर्ने कुरामा सहमति जनाएका बताइएको छ । नेपाली कांग्रेसले मन्त्री फेर्ने मोडालिटीलाई लिएर छलफल गर्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले नै सेट नै फेर्दा उपयुक्त हुने सन्देश सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई दिएका बताइएको छ । गत मंसिर १९ गते सार्वजनिक भएको सरकारको ३ महिनाको प्रतिवेदनले सरकारको प्रगति निकै कमजोर देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*