एनसेल काण्डमा आफु र छोरी गंगाको नाम जोडेपछि रिसाए प्रचण्ड, ‘यो गणतन्त्रमाथिकै प्रहार हो’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर किनबेच प्रकरणमा आफ्नो स्वकीय सचिव तथा छोरी गंगा दाहालको नाम उचाल्नुलाई लोकतन्त्र र गणतन्त्रमाथिको प्रहारको रुपमा लिएका छन् । एनसेल प्रकरणका सम्बन्धमा सरकारकातर्फबाट जवाफ दिन मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा आफैं उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले सांसदहरुले एनसेलको शेयर किनबेचसँग छोरी गंगा दाहाललाई जोडेर गरेको प्रश्न पूर्वाग्रही तथा लोकतन्त्र, गणतन्त्रमाथिको प्रहार भनेका हुन् ।
एमाले सांसद कृष्णगोपाल श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले एनसेलको शेयर किनबेच प्रकरणमा प्रधानमन्त्री प्रचण्ड र छोरी गंगा दाहालको नाम जोडिएको भन्दै प्रश्न गरेका थिए । सांसद श्रेष्ठले अबको ५ वर्षभित्र एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ? भनेर प्रधानमन्त्रीसँग जवाफ समेत मागेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले ‘सांसद अमरेशकुमार सिंहले खुला रुपमा प्रधानमन्त्रीको स्वकीय सचिव रहेको मानिसमाथि प्रश्न उठाउँदा किन मौन हुनुभयो ? भन्दै प्रश्न गरिन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो परिवारका सदस्य घट्दै गएर तीन जना रहेका छौं । त्यो मध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ । हामी सबैलाई थाहा छ । ऊ उतै बढी इंगेज हुन्छ । एउटा छोरी छ । बिचरा, त्यो कस्ती छ, तपाईंहरूले थाहा पाउनुभए कै छ । उसको नाम जोडेर उचालेको छ । म के ठान्छु भने यो वास्तवमा संविधान, व्यवस्था, गणतन्त्र, लोकतन्त्रविरुद्धको हमला हो । म एकदम प्रष्ट छु त्यसमा ।’
उनले एकथरीलाई प्रचण्डलाई नराम्रोसँग ह्युमिलियट नगरेसम्म, डिप्रेस्ड नबनाएसम्म यो (संविधान र व्यवस्था) उल्टिने भएन भन्ने चिन्ता रहेको तर्क समेत गरे । प्रचण्डले एनसेलको शेयर खरिदविक्रीमा आफूसँग जोडेर प्रचार भइरहेको भन्दै त्यसको खण्डन गरे ।
उनले भने, ‘गिरिजाबाबुले धमिजा काण्डमा गरेकोभन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ भन्ने प्रचार भइरहेको छ । त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुटो हो भन्ने थाहा भएपछि त म ढुक्क छु । ४८० भने पनि, ५०० भने पनि, १००० बढी छ भने पनि साबित त हुनेवाला छैन । यसमा सबै प्रष्ट हुन जरुरी छ ।’