लगानीकर्ताको सम्पत्ति निरन्तर बढ्दै, दुई साता नबित्दै ४ खर्बमाथिको मुनाफा
३ पुष २०८०, मंगलवार १६:५२
काठमाडौं । शेयर बजारमा लगानीकर्ताको सम्पत्ति निरन्तर बढ्दै गएको छ। दुई साता नबित्दै लगानीकर्ताहरुको सम्पत्ति ४ खर्बभन्दा माथिले बढेको छ।
आज मंगलबार नेप्सेको बजार पुँजीकरण ३२ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार मंसिर २० गते बजारको कुल पुँजीकरण २८ खर्ब ३८ अर्ब ६९ करोड रुपैयाँ थियो । त्यसयता, १० दिन कारोबार भएको छ । १० दिनमा नेप्सेको पुँजीकरण १४.९० प्रतिशत भन्दा धेरैले बढेको हो ।
बजारमा आएको वृद्धिका कारण लगानीकर्ताहरुको सम्पति बढेको हो । आज एक दिनमा मात्रै बजार पुँजीकरण ८३ अर्ब भन्दा धेरैले बढेको छ। यसअघि २०२३ जुलाई २३ मा नेप्सेको पुँजीकरण ३२ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । ब्याजदर र अधिक तरलताले साथ दिंदै गएपछि सेयर बजारका लगानीकर्तामा उत्साह बढेको हो ।