एनसेलविरुद्ध सांसद अमरेशले हालेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौँ । एनसेलको शेयर खरिदविक्रीबारे स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो ।
कारण देखाउ आदेश जारी गर्दै सर्वोच्च अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ५ पल्टसम्म हेर्न नभ्याउनेमा परेको सिंहको रिटमाथि मंगलबार भने आदेश भएको हो । यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानून व्यवसायीले स्थगित गराएका थिए ।
पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानूनको आँखा छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी ढंगले एनसेलको शेयर खरिदविक्री भएको दाबी गरेका छन् । उनले शेयर खरिदविक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।
मङ्सिर २२ गते शुक्रबार दायर गरेको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ ।