अन्ततः रोकियो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स, सेबोनको पत्र अर्थ मन्त्रालयद्धारा फिर्ता
काठमाडौं । अन्ततः नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोकिने लगभग निश्चित भएको छ। अर्थमन्त्रालयले मन्त्रिपरिषद्मा लैजानुपर्ने बोर्डको प्रस्ताव उल्टै बोर्डलाई नै फिर्ता गरी थप स्पष्टिकरण पेश गर्न भनेसँगै तत्कालका लागि नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोकिएको छ। आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट पारित हुने विश्वास गरिएको स्टक एक्सचेन्जको लाईसेन्स सम्बन्धी प्रस्तावमा अर्थमन्त्रालयले थप स्पष्टिकरण मागेपछि यो प्रकृया लम्बिन पुगेको छ ।
नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने बारे थप प्रष्टीकरण पठाउन अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई हिजो निर्देशन दिएको हो । बोर्डले स्टक एक्सचेन्जको प्रकृयामा अगाडि बढाउन दिएको पत्रको जवाफमा मन्त्रालयले उत्तर सहित थप प्रष्टीकरण खोजेको छ ।
सेबोनको गत शुक्रबार बसेको संचालक समिति बैठकले स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको थियो । अर्थको पत्रपछि सेबोन अध्यक्ष रमेशकुमार हमालले मंगलबार नै संचालक समिति बैठक डाकेर प्रष्टीकरण पठाउन खोजेका थिए।
तर नेपाल राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै संचालकमा आएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले नभ्याउने जानकारी दिएपछि बुधबारलाई संचालक समिति बैठक डाकिएको छ। राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै गएका मुकुन्द कुमार क्षेत्रीको विदाई भइसकेको छ भने श्रेष्ठको स्वागत भइसकेको छैन।
हमालले आफैंले सबै संचालकलाई टेलिफोन गर्दै बैठकको बारेमा जानकारी गराएको खुलेको छ । आफनो कार्यकालमै सम्पूर्ण काम सकाउने चटारे उनलाई परेको कारण नयाँ स्टकको लाइसेन्सको बिषयमा उनी लागि परेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सेटिङमा हुन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न सफल भएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार हमाल पदावधी धेरै दिन बाँकी नरहेकोले अब नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको सम्भावना न्यून छ ।