एनसेल प्रकरणमा प्रधानमन्त्रीको जवाफ-कानून विपरीत किनबेच गरेको भए हदैसम्मको कारबाही हुन्छ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिदविक्री प्रकरणमा कहीँ कतैबाट कानून विपरीत काम भएको पाइए सरकारले हदैसम्मको कारबाही गर्ने बताएका छन् । मंगलबार राज्यव्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा सरकारको तर्फबाट भइरहेको कारबाहीका विषयमा जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले यो प्रकरणमा सरकारलाई सुरुदेखि नै सहज नलागेको र निर्देशन पनि दिइएको जानकारी दिए । उनले भने, ‘यो सहज छैन र स्वाभाविक छैन भन्ने देखिएका हुनाले निर्देशन नै जारी गर्नुपरेको थियो । यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’
प्रधानमन्त्री प्रचण्डले मंसिर १८ गते एनसेलको शेयर किनबेचबारे चासो राख्दै तत्काल अध्ययन गर्न राजस्व विभाग लगायतका निकायलाई एनसेलको सेयर खरिदको छानबिन गर्न निर्देशन दिएका थिए ।
मंसिर २१ मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको शेयर किनबेचबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले काम सुरु गरिसकेको छ । समितिलाई एक महिनाको समय दिइएको छ ।