सहकारीका बचतकर्ता ठगेको आरोप लागेका इच्छाराज सर्वोच्च पुगे
काठमाडौं । सहकारीका निक्षेपकर्ताको बचत अपचलन तथा ठगी गरेको अभियोग लागेर थुनामा रहेका व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङ सर्वोच्च न्यायालय पुगेका छन् । आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध तामाङले सर्वोच्च अदालत पुगेर निवेदन हालेका हुन् ।
तामाङले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत पाटनको निर्णय बदर गरी धरौटीमा रिहा हुनुपर्ने माग गरेका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झण्डै ३ साता लामो थुनछेक बहसपछि २०७८ पुसमा तामाङलाई थुनामा पठाएको थियो । जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । पाटनले समेत जिल्लाको आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।
पुस १ गते सर्वोच्चमा बेरितको निवेदन दर्ता गराएका तामाङबारे सुनुवाई गर्न मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकामध्ये जिल्ला अदालतले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश दिएको थियो। १२ मध्ये ९ जनालाई धरौटीमा छाड्ने तथा १ जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो ।
पक्राउ परेका हरिहरप्रसाद लामिछानेसँग ५० लाख, विजयविक्रम शाहसँग १५ लाख, भगवानबहादुरसिंह डंगोलसँग १० लाख धरौटी माग गरेको थियो । लामिछाने सहकारीको लेखा समिति सदस्य थिए भने शाह सिभिल होम्सका वरिष्ठ प्रबन्धक थिए । त्यस्तै, कर्मचारीहरू एलिना तुलाधर, मयोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभ केतन ढुंगानासँग प्रतिव्यक्ति ५-५ लाख तथा शंकरप्रसाद पाठकसँग २ लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार धरौटी माग भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०७८ कात्तिकमा मुद्दा दायर गरेको थियो । सीआईबीमा १ हजार ५०० भन्दा धेरै निक्षेपकर्ताले ५ अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए ।