बोल्नै डराउने कल्पना बनिन् बीमा अभिकर्ताको लिडर
काठमाडौं । अभिकर्ता पेशामा प्रवेश गरेपछि सिटिजन लाइफकी एजेन्सी म्यानेन्जर कल्पना देवकोटाको परिचयसँगै जीवन नै फेरिएको छ । खुलेर बोल्न समेत धक मान्ने कल्पनालाई आज बीमा अभिकर्ता पेशाले लिडरको रुपमा चिनाएको छ । अहिले पूर्वदेखि पश्चिम नेपालसम्म बीमा अभिकर्ताको रुपमा परिचित छन्, उनी ।
बढ्दो प्रतिष्पर्धा र जनमासमा निडरतापूर्वक घर बाहिर निस्किएर आफनो छुट्टै पहिचान बन्नुको पहिलो श्रेय भने उनी सिटिजन लाइफलाई नै दिन्छिन् ।
चार वर्षअघि आफ्नै बीमा गर्ने क्रममा बीमा अभिकर्ता पेशामा प्रवेश गरेकी कल्पना अहिले १८० जना अभिकर्ताको नेतृत्वकर्ता अर्थात् सिनियर एजेन्सी म्यानेजरका रुपमा काम गरेर उत्प्रेरणा दिइरहेकी छन् ।
बीमा क्षेत्रमा प्रवेश गर्नुअघि सामान्य घरगृहस्थी तथा स्टेशनरी पसल चलाएर बसेकी देवकोटामा आएको परिर्वतनले घर परिवार मात्र नभई समाज नै चकित छ ।
उनले सिटिजन लाइफमै चार वर्षको अवधिमा तीन सय बढी बीमा पोलिसी विक्री गरिसकेकी छन् यस दौरान एउटा बीमा दाबी भुक्तानी पनि समयमै गराइसकेकी छन् ।
बीमा अभिकर्ता पेशालाई उत्साहपूर्वक निरन्तरता दिइरहेकी देवकोटाले बीमा पोलिसी विक्री गरेर मासिक १ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् । उनी बीमा अभिकर्ता पेशा लगानी विनाको आम्दानी गर्ने उपयुक्त थलो भएको जिकिर गर्छिन् ।
“अरु पेशा गर्दा लगानी गर्नु पर्ने हुन्छ । अभिकर्ता पेशा यस्तो पेशा हो जहाँ विना लगानी मनग्य आम्दानी गर्न सकिन्छ । त्यसैले यो पेशामा जोडिएँ”, उनले भनिन् ।२०७४ सालमा बीमा अभिकर्ता पेशामा जोडिन पुगेकी देवकोटाले सुरुको बीमा आफ्नै परिवारका सदस्यहरुबाटै सुरु गरेकी हुन् ।
नयाँ कामको सुरुवात आफैबाट गर्नु उचित ठान्दै उनले पहिलो बीमा आफनै दाइको गराईन् । आफनो परिवारको बीमा गराएर अभिकर्ता पेशाको यात्रा अघि बढाएकी कल्पना देवकोटाले त्यसपछि क्रमशः घरबाहिर बीमा गरेर पेशालाई निरन्तरता दिईन् ।
सुरुमा उनलाई पत्यार नै लागेको थिएन कि, बीमा अभिकर्ता बनेर यतिधेरै आम्दानी गर्न सकिन्छ भनेर । जब व्यापार बढ्दै गयो, आम्दानी समेत बढ्दै गयो । अनी ढुक्क भएर यो पेशामा लगनशील भएर लागिन् । उनी खासै खुलेर बोल्न नचाहने भएकाले कारण कतै यो यो पेशामा धेरै समय टिकिँदैन कि ? भन्ने शंका थियो, सुरु सुरुमा । र, सुरुवातमा कठिनाई भएको अनुभव छ, उनीसँग । दाईको बीमा गर्ने निधो त गरिन्, तर कसरी, कुन पोलिसी दिने ? भन्ने विषयमा अन्यौल थिईन् ।
प्रत्यक्ष रुपमा दार्ईको बीमा गराउन आमाको सहायता लिएर बीमा पोलिसी बिक्री गरेर बीमा अभिकर्ताको पेशा सुरु गरेकी उनले आज विगतलाई फर्केर हेर्दा आफू निकै अघि पुगिसकेको महसुस गरेको सुनाउँछिन् ।
उनले भनिन्, ‘सुरुमा त मलाई यो पेशा गाह्रो लाग्यो, पछि काम गर्दै जाँदा म आवद्ध भएको टिमले मलाई हौसला दियो । र, आज यो पेशामा निरन्तर लागिरहेकी छुँ ।’सुरुवाती बीमा उनका लागि संघर्षपूर्ण थियो । त्यही संघर्ष र धैर्यता निर्मलाका लागि बीमा अभिकर्ता पेशाको सफलताको शुत्र बनिदियो ।
बीमा अभिकर्ता पेशा उनको पार्टटाइम मात्रै हो । उनले आफ्नो व्यापार व्यवसाय छोडेकी छैनन् । बीमा अभिकर्ता पेशालाई व्यापारसँगसँगै लिएर हिडेकी कल्पना भन्छिन्, “बीमा अभिकर्ता पेशा स्वतन्त्र पेशा हो ।” अरु पेशा व्यवसायबाट बचेको समय उनी अभिकर्ता पेशालाई दिन्छिन् । त्यसैले उनी बीमा अभिकर्ता पेशालाई समयका हिसाबले स्वतन्त्र पेशा, कमाईका हिसाबले उत्कृष्ट पेशाका रुपमा लिन्छिन् ।
चार वर्षदेखि विभिन्न सामाजिक कार्यमा आवद्ध हुँदै आएकी कल्पना अभिकर्ता पेशालाई सामाजिक पेशाका रुपमा लिन्छिन् । बीमा भनेको सामाजिक काम पनि हो रहेछ भन्ने लागेर आफु यो पेशामा थप सक्रिय भएको उनले सुनाईन् ।
थोरै लगानीमा भविष्यमा आईपर्न सक्ने ठूलो क्षतिको सामना गर्न बीमाले सघाउँछ, उनी भन्छिन्, ‘बीमा भनेको बचत गर्ने बानी हो । बीमा गर्नु जो सुकैलाई पनि आवश्यक छ, भैपरि रुपमा आउने जोखिमसँग सामना गर्न बीमाले सहयोग गर्दछ ।’ उनले अगाडि थपिन्, “बचत सँगसँगै सुरक्षा पनि हुने भएकाले बीमा अपरिहार्य छ । बीमा हुने खानेका लागि भन्दा पनि हुँदा खानेहरुका लागि झन् जरुरी छ । हामी बीमा अभिकर्ताहरुले हुने खानेलाई भन्दा पनि हुँदा खानेहरुलाई बीमाको दायरामा ल्याउनुपर्दछ ।”
अभिकर्ता पेशामा आवद्ध भएपछि उनलाई सबै तह र तप्काका मान्छेसँग भेट गर्ने अवसर मिल्यो । समाजमा देखे सुनेभन्दा बढीले चिने । आर्थिक रुपमा स्वतन्त्र भईन् । जीवनमा छुट्टै चमक आयो । जुनसुकै पेशामा राम्रा वा नराम्रा पक्ष स्वभाविक हुन्छन् । र, आर्थिक पक्ष सबल हुनु अभिकर्ता पेशाको राम्रो पक्ष हो । निरन्तर रुपमा लागि परेर काम गर्ने अभिकर्ताले समाजमा नाम समेत कमाउन सक्ने उनको अनुभव छ ।
बीमा अभिकर्ता पुलको रुपमा रहेर काम गर्ने व्यक्ति हो । देवकोटा भन्छिन्, “अभि भनेको अहिले भरखरै र कर्ता भनेको गर्ने मान्छे हो । बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितबीचमा पुलको रुपमा काम गर्ने व्यक्तिका रुपमा अभिकर्तालाई लिएकी छुँ ।”
एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुणहरु हुनुपर्ने उनको भनाइ छ । अभिकर्ता आफ्नो पेशाप्रति लगनशील र निरन्तर रुपमा लागि पर्नुपर्ने भएर उनको अनुभव छ । निरन्तर रुपमा लागि पर्ने जो कोहि यो पेशामा सफल हुन सक्ने उनको दृढता छ । अभिकर्तामा धैर्यता भने हुनुपर्ने कल्पना बताउँछिन् ।
मेहनती, इमान्दार, सहनशील, धैर्यवान र बीमाबारे बुझाउन सक्ने गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने कल्पनाको भनाइ छ ।आज पनि नेपाली समाजमा बीमाको प्रस्तावलाई सहजै स्वीकार गर्ने मान्छे कमै भेटिन्छन् । बीमा गर्नु पर्छ भन्ने चेतना नभएकाहरुलाई बीमा बुझाउनु नै बीमा बजारमा देखा परेको चुनौति रहेको उनको बुझाइ छ ।
देवकोटा भन्छिन्, “बीमाका बारेमा कुरा गर्नु छ भन्दा आज पनि कतिपय व्यक्तिहरु तर्किएर हिड्ने गर्छन् । बीमाको कुरा गर्नु छ भन्दा ला अब के पो गर्ने हुन् भन्ने मनसाय अझै धेरै व्यक्तिहरुसँग छ ।”बीमा अभिकर्ता पेशामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई लक्षित गर्दै उनले निरन्तर रुपमा लागि परेर काम गर्दा आम्दानीका हिसाबले अभिकर्ता पेशा राम्रो रहेको बताईन् ।
एसएलसी उत्तिर्ण वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र लिएर त्यतिकै घरमा बसिरहेकाहरुलाई कल्पना बीमा अभिकर्ता पेशामा पनि भविष्य रहेको सुझाव दिन्छिन् ।“अभिकर्ता पेशा सामाजिक काम हो, सामाजिक काम गरेर सुरक्षा दिए बापत हामीलाई पनि आम्दानी हुन्छ”, उनले भनिन् ।
बीमा के हो ?, बीमा कसरी गर्ने ?, आफु आवद्ध भएको कम्पनीमा कस्ता खालका पोलिसी छन् ? भन्नेबारे पूर्ण जानकारी लिएर बीमा अभिकर्ता पेशामा लाग्नु पर्ने उनको सुझाव छ ।आफ्नो योग्यता हुँदा हुँदै पनि त्यतिकै घरमा समय खेर फालेर बस्नुभन्दा यो पेशामा लाग्न उनले नवप्रवेशीहरुलाई आग्रह गरिन् ।
संसारमा बीमा अभिकर्ता भन्ने वित्तिकै सम्मानित पेशाका रुपमा लिइन्छ, उनी भन्छिन्, ‘अन्य देशको तुलनामा नेपालमा भने यो पेशालाई हेयका दृष्टिले हेर्ने गरिन्छ । र, यो पेशा नराम्रो पेशा हो भन्ने प्रवृत्ति छ ।’
अनुभव साट्दै उनले भनिन्, “अभिकर्ताप्रति नकारात्मक सोंच राख्ने व्यक्ति जो छन्, उनीहरुलाई यो पेशा पनि राम्रो पेशा हो है भनेर बुझाउनका लागि बीमा अभिकर्ता पेशामा लागेका स्वंयम हामीले नै पहल गर्नुपर्छ ।”
अभिकर्ताले आफ्नो कर्तव्य निर्वाह गरेर निरन्तर अघि बढे यो पेशा आफैं सम्मानित तथा मर्यादित बन्दै जाने उनले बताईन् । अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउन बीमा कम्पनी, बीमा समितिको पनि उत्तिकै भूमिका रहने उनको बुझाइ छ ।