आजपाद्वारा भन्सार विभाग घेराउ, चोरी पैठारीका सामान पक्राउ र सुराकीको ४५ प्रतिशत पुरस्कार गैरकानूनी
काठमाडौँ । माओवादीबाट फुटेका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै भन्सार विभाग घेराउ गरेको छ । आजपाले भन्सार नियमावलीमा रहेको प्रावधान हटाउन माग गर्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको हो ।
पार्टी केन्द्रीय सदस्य रञ्जुकुमारी साहले नियमकानून बनाएर राज्य आफैँले पालना नगरेकाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेज गर्नुपर्ने बताईन् । उनले, ‘राज्यले नियमकानून बनाएर भन्सारमा आम नागरिकले ४५ प्रतिशत छुट पाउने भनेको छ, त्यो कर्मचारीहरुले पाइरहेका छन् । जनताले पाएका छैनन् । यसरी भइरहेको भन्सार छली सरकारले नियन्त्रण गर्नुपर्छ’ भनिन् ।
आजपाले गएको असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो । तर, त्यतिबेला चाडपर्वका कारण आजपाले माग सम्बोधन नहुँदै अर्को निर्णय नहुँदासम्मका लागि संघर्षका कार्यक्रम स्थगित गरेको थियो । सरकारी तलब सुविधा भोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसनको व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने आजपाको धारणा छ ।
देशको राजस्व सङ्कलन व्यवस्थित र प्रभावकारी हुनुपर्ने भए पनि राजस्व सङ्कलन भद्रगोल र लुटकारी भएको अध्यक्ष प्रभु साहको भनाइ छ । सरकारी राजस्वलाई लुट्न गलत कानूनी प्रावधान राखिएको साहले जिकिर गरे ।
भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) रकम व्यक्तिको निजी हुने व्यवस्था उक्त नियमावलीमा छ ।
संसद्लाई छलेर नियमावलीमा पुरस्कारको गलत प्रावधान राखेर सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व कर्मचारी र सुरक्षाकर्मीको खल्तीमा गइरहेको उनको आरोप छ ।