उच्च अदालत पाटनमा अटोमेशनमा पेशी तारिख तोक्ने अभ्यासको थालनी

१ पुष २०८०, आईतवार १२:२६

काठमाडौं । उच्च अदालत पाटनमा पुस १ अर्थात् आजदेखि अटोमेशनमा पेशी तारिखको अभ्यास सुरु भएको छ । पेशी तारिख अटोमेशनको अभ्यासका लागि आइतबार गृहकार्य भएपनि प्राविधिक तयारी पुरा नभएका कारण पूर्ण अभ्यासका लागि पुस ८ गतेलाई समय निर्धारण गरिएको छ ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले भने, ‘पेशी तारिख अटोमेशनको सुरुवात भएको छ । तर, यसको पूर्णअभ्यास भने पुस ८ गतेबाट हुनेछ । ८ गते प्रधानन्यायाधीशले उच्च अदालतमै आएर उदघाटन गर्ने कार्यक्रम छ ।’

८ पुसदेखि पेशी तारिख अटोमेशनको पूर्णअभ्यास थाल्ने जानकारी भट्टराईले दिएका छन् । सर्वोच्चबाट पाइलट प्रोजेक्टका रूपमा अभ्यास थालिएको पेशी तारिख अटोमेशन चार महिनाको अभ्यासपछि उच्चमा गर्न लागिएको हो ।

सर्वोच्च अदालतमा गएको भदौ ११ गतेदेखि पेशी तारिख अटोमेशनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले पेशी तारिख अटोमेशनमा तोक्ने प्रविधिको आरम्भ गरेका थिए ।

प्रधानन्यायाधीश श्रेष्ठले भदौमा पेशी तारिख ‘अटोमेशन’मा तोक्ने थालनी गर्दा सर्वोच्चमा पाइलट प्रोजेक्टमा सुरु भएको अभ्यास विस्तारित गर्दै लैजाने बताएका थिए । यसले न्यायलयप्रतिको नागरिकको भरोशा र विश्वास बढ्नुका साथै न्यायालयको गरिमा समेत बढेर जाने प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*