५१ जनालाई ठगेर दुबईमा लुकेर बसेका उपाध्याय पक्राउ, कारबाहीका लागि नेपाल ल्याइयो

१ पुष २०८०, आईतवार १२:०२

काठमाडौं । ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका कोमलराज उपाध्याय पक्राउ परेका छन् । उनलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको हो । ५१ जनाबाट ठूलो रकम ठगेर दुबईमा बस्दै आएका उपाध्यायलाई ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी गरेर पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

उपाध्यायको घर सर्लाही साविक जानकीनगर गाविस-७ हो । नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) अबुधावीको समन्वयमा यूएईमा पक्राउ परेका उनलाई ठगी मुद्दामा कारबाहीका लागि नेपाल ल्याइएको प्रवक्ता कडायतले बताए ।

उपाध्याय सञ्चालक रहेको ‘त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिज, खलिदा बिन अल विल्ड रोड, अलराफा’ले यूएईमा आम्र्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई ठगी गरेको बताइएको छ ।

नेपाली युवालाई भिजिट भिसामार्फत् दुबई बोलाउने गरेको, रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारी नदिई ठगी गरेको भन्दै ५१ जना पीडितले उनीविरूद्ध जाहेरी दिएका छन् ।

पीडितहरुले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी सम्बन्धी कसुरमा उजुरी दिएका हुन् । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड कर्नर नोटिस जारी भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*