दुई वाणिज्य बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । प्राईम कमर्सियल बैंक र कुमारी बैंक लिमिटेडको संस्थापक शेयरमा आजदेखि बिक्री खुला भएको छ । दुबै बैंकको उक्त शेयरमा आजदेखि पुस ६ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।
प्राईम कमर्सिलय बैंकले प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ४९ हजार ७१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरि आवेदन दिनुपर्नेछ ।
सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै, कुमारी बैंक लिमिटेडले प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ५ लाख ४९ हजार ६२६ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ११० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरि आवेदन दिनुपर्नेछ ।
सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले न्यूनतम ५० हजार र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले शेयर खरिद गर्न आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।