गलत बाटो हुँदै वैदेशिक रोजगारीमा नजान परराष्ट्र सचिव लम्सालको आग्रह

२९ मंसिर २०८०, शुक्रबार १४:५३

काठमाडौँ । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताएकी छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार पद बहालीपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता जनाईन् । उनले भनिन्, ‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु ।’ देशको परराष्ट्र नीतिअनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने उनले बताईन् ।

विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने समेत उनले बताईन् । नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सबैलाई आग्रह गर्दै उनले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्न पहल गर्ने प्रतिवद्धता जनाईन् ।

रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भमा उनले अनुमतिपत्र प्रदान गरिने बताएकी हुन् । ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले फेरि पनि सुझाव दिईन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो । पाकिस्तानका लागि नेपाली राजदूत भएर काम गरिसकेकी उनले त्यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रुपमा काम गरेकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*