महानगर दिवसमा प्रधानमन्त्री प्रचण्डले गरे बालेनले गरेका कामको प्रशंसा

२९ मंसिर २०८०, शुक्रबार १४:०२

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरका मेयर बालेनको कार्यशैलीको प्रशंसा गरेका छन् । २९औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरपालिकाले सुरु गरेका प्रगतिशील कामहरुबाट संघीय सरकारलाई समेत उत्प्रेरणा मिलेको बताएका हुन् ।

बालेन नेतृत्वमा महानगरले प्रशंसनीय काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार भएको बताए । ‘पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु ।

शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति-चुरोट लगायतका बस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे-जति पहल लिएको छ, देशले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

काठमाडौं महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढाएर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमूना प्रस्तुत गर्ने पनि प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरू मध्येको एक सांस्कृतिक शहर भएको उल्लेख गरे । विद्यमान विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौंलाई खुला संग्रहालयका रूपमा विश्वमाझ चिनाएको समेत प्रधानमन्त्रीले प्रचण्डले स्मरण गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*