बीमा क्षेत्रलाई नयाँ उचाई दिन बीमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

२९ मंसिर २०८०, शुक्रबार १३:३२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रलाई नयाँ उचाई दिन सर्भेयरको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘बीमाको सुरुवात धेरै अगाडिदेखि भएपनि नेपालका लागि अझै आम विषय बनिसकेको छैन । जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अब विकसित हुँदै गइरहेको छ ।’

अहिले पनि अधिकांशको बुझाई मलाई समस्या आइपर्दैन, बीमाका किन सहभागी हुने भन्ने रहेको भन्दै अर्थमन्त्री डा. महतले चिन्ता व्यक्त गरे । बीमा सचेतनाको अधिक जरुरत रहेको बताउँदै मन्त्री डा. महतले भने, ‘जीवन होस् वा निर्जीवन जोखिममा परेका खण्डमा झमेला हुँदैन । यो विश्वास हामीले दिलाउन सक्नुपर्छ ।’

नेपालमा दुईटा समस्या छ, उनले अगाडि भने, ‘हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने हुन्छ । बीमा गरिसकेकाहरुको हकमा पनि आपत पर्दा बीमा कम्पनीहरुले तिर्न आनाकानी गर्छन् । जसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि वाधा गर्छ ।’

अहिले देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र नियामक निकायलाई काम गर्ने तौरतरिका परिवर्तन गर्न समेत अर्थमन्त्री डा. महतले आग्रह गरे । उनले व्यवसायिकतालाई केन्द्रभागमा राखेर काम गर्नु पर्ने सुझाव समेत दिए । बीमा कम्पनीहरुले लिन बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिने बेलामा अनेकौं झमेला झिक्ने परिपाटी राम्रो नभएको अर्थमन्त्री डा. महतको भनाई छ ।

त्यस्तो अवस्थामा सर्भेयरको भूमिका महत्वपूर्ण छ । उनीहरुको बीचमा बसेर सर्भेरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ डा. महतले अगाडि भने, ‘कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यस्तो हुँदा कोही कसैमाथि दोष आउँदैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*