देवताल गाउँपालिकासंग बीमा अन्तरक्रिया
काठमाडौं । बाराको देवताल गाउँपालिकासंग प्राधिकरणले बीमा अन्तरक्रिया कार्यक्रम गरेको छ। बीमा प्राधिकरण मधेश प्रदेशले चालु आवको वार्षिक नीति अन्तर्गत उक्त कार्यक्रम मंसिर २८ गते कार्यपालिकाको सभा हलमा सम्पन्न गरेको हो।
उक्त कार्यक्रमको सभापतिको रुपमा बीमा प्राधिकरण मधेश प्रदेश प्रमुख कुशुम शर्मा, प्रमुख अतिथिको रुपमा गाउपालिकाका अध्यक्ष उदय प्रसाद यादव, विशेष अतिथिको रुपमा पालिकाका उपाध्यक्ष सितापती देवी यादव, अतिथिको रुपमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तव र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो।
बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले सञ्चालन गरेको सो कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, पालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहित करिब ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयका बारे आफ्नो प्रस्तुति राखेका थिए। तत् पश्चात्को छलफल कार्यक्रममा सहभागीहरुले बीमा प्रति नागरिकहरुमा चेतनाको कमी रहेको र बीमकहरु स्थानीय स्तरमा पुगि नागरिकहरुलाई बीमा गर्न सुचित गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए।
कार्यक्रममा जीवन बीमक र निर्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा समेत बीमा सम्बन्धी जानकारी दिएका थिए। कार्यक्रमका प्रमुख अतिथिले यस कार्यक्रमबाट नेपाल बीमा प्राधिकरण र यसको काम कारवाहीको सम्बन्धमा ज्ञान प्राप्त भएको साथै बीमा सम्पत्तिको रुपमा रहने र यसले दीर्घकालमा सहयोग पुर्याउने हुँदा सबैलाई आफ्नो, परिवारका सदस्यको र सम्पत्ति एवं कृषि पशुपन्छीको बीमा गर्न अपिल गरे । साथै, प्राधिकरण, पालिका र बीमक लगायत सरोकारवालाहरुसंगको सहकार्यमा बीमा साक्षरता अभिवृद्धि गर्नु पर्ने धारणा राखे ।
कार्यक्रमको समापनमा प्रदेश कार्यालय प्रमुख शर्माले पालिकाले राहत, अनुदान र सहायतालाई बीमा मार्फत परिचालन गर्नु पर्ने र स्थानीय तहले बीमालाई आफ्नो सेवा प्रवाहसंग आवद्ध गर्नु पर्ने कुरा व्यक्त गरिन्। साथै, पालिकालाई आफ्ना भौतिक संरचना र विपन्न नागरिकहरुको बीमा गरिदिन र अन्य नागरिकहरुलाई बीमा गर्न जागरुक गराउन अनुरोध गर्दै उठेका अन्य प्रश्न एवं गुनासोहरुको जवाफ दिदै कार्यक्रमको समापन गरेकी थिइन्।