परराष्ट्रकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा

२८ मंसिर २०८०, बिहीबार १७:४९

काठमाडौं । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । गएको शुक्रबार लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्न एकल सिफारिस गरेको थियो ।

सन् १९९८ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी सेवा लम्साल जागिरे जीवनको २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको कुर्सीमा पुगेकी हुन् । गत मंसिर १९ गते सचिव भरतराज पौड्यालको समयावधि समाप्त भएसँगै उनले निमित्त सचिवको जिम्मेवारी लिइसकेकी थिइन् ।

लम्साल उपसचिवका रूपमा प्रवेश गरेकी थिइन् । पासपोर्ट विभागबाट परराष्ट्रको करिअर सुरू गरेकी उनी सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरेकी थिइन्। त्यसबेला उनले इरान, टर्की, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी लिएकी थिइन्।

२०२० मा नेपाल फर्किएपछि भने लम्सालले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय संघसंस्थाहरू र अन्तर्राष्ट्रिय कानुन विभागमा काम गर्दै आएकी थिइन् । सचिवको जिम्मेवारी सम्हालेसँगै अब लम्सालले परराष्ट्र मन्त्रालय अन्तर्गतका ३५८ जना कर्मचारीको नेतृत्व लिनेछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*