बालकृष्ण खाण ३० लाख धरौटीमा रिहा (आदेशसहित)
काठमाडौं । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता तथा बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। खाणलाई ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
बिहीबार खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरेका थिए। प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि खाणको पक्षमा बहस गरे। सरकारका तर्फबाट सरकारी वकिल महेश खत्री र शंकर खत्रीले बहस गरेका थिए। यसअघि संयुक्त इजलासमा दुई न्यायाधीशबीच राय बाझिएपछि खाण रिहा हुन सकेका थिएनन्।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो। पाण्डेले ३० लाख धरौटीमा छाड्नु पर्ने र खरेलले भने पुर्पक्षमै राख्नुपर्ने राय दिएका थिए। त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा पेशी राखेर यो मुद्दाको सुनुवाई भएको हो ।