रुसी सेनामा भर्ती भएका ३० युवाको उद्धार गर्न परिवारले दिए निवेदन

२८ मंसिर २०८०, बिहीबार १७:१४

काठमाडौं । रूसी सेनामा भर्ती भएका ३० जना नेपाली युवालाई उद्धार गरेर नेपाल फर्काउन परिवारले सरकारसँग गुहार मागेका छन् । सम्बन्धित परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा गई उनीहरुको उद्धार गर्न निवेदन दिएका हुन् । करिब डेढ महिनाको अवधिमा यी आवेदन परेका हुन् ।

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले ३० जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताए । आवेदन परेपछि उनीहरुको उद्धारमा सहजीकरण गरिदिन भन्दै विभागले रूसको मस्कोस्थित नेपाली दूतावास र जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ ।
मस्को र बर्लिनस्थित नेपाली दूतावासले उद्धारको लागि पहल गरिरहेका छन् । रूसी सेनामा भर्ना भएकाहरुले आफूहरुलाई युद्ध मैदानमा पठाएको र घेराबन्दी परेको भन्दै उद्धारको लागि पहल गरिदिन नेपालमा रहेका आफ्ना परिवारलाई गुहारेका थिए ।

त्यसपछि परिवारका सदस्यहरू कन्सुलर सेवा विभागमा गएर उद्धारको लागि पहल गरिदिन अनुरोध गरेका हुन् । रूसी सेनामा भर्ना भएकामध्ये युक्रेनसँगको युद्धमा हालसम्म ६ जना नेपाली युवाको मृत्यु भइसकेको छ । तीन जनालाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दीको रुपमा राखेका छन् ।

रूसी सेनामा भर्ती हुन जानेको संख्या बढेपछि र भर्ती भएका नेपाली युवाहरु मारिन थालेपछि सरकारले यही मंसिर १८ गतेदेखि कडाइ गरेको थियो । परराष्ट्र मन्त्रालयले मंसिर १८ गते विज्ञप्ति जारी गर्दै रूसलाई नेपाली युवालाई सेनामा भर्ती नगर्न र भर्ती भएकालाई तत्काल फिर्ता पठाउन भनिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*