एमाले नेताको एग्रो मनाङविरुद्ध दिपक मनाङेले दिए अख्तियारमा उजुरी, अवैध रुपमा जग्गा हडपेको आरोप
काठमाडौं । अवैध रुपमा जग्गा हडपेको भन्दै एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
अवैध रुपमा जग्गा हडपेर फार्म सञ्चालन गरेको, वन फँडानी गरेको लगायत विषयमा आफूले थाहा पाएपछि अख्तियारमा उजुरी दिएको उनले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । उक्त एग्रो फार्म भने पूर्वसांसद तथा नेकपा (एमाले)का नेता पाल्देन छोपाङ गुरुङको भएको बताइएको छ ।
फार्म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भएका कारण आफुले यसमा चासो लिएको मनाङेले बताएका छन् । स्थानीयले गाउँमा विद्युतको समस्या सुनाएको र एग्रो मनाङका कर्मचारीले विद्युत् पोल गाड्न नदिएपछि आफू त्यहाँ पुगेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सम्बन्धित
‘एग्रो मनाङ’को लुट, किर्ते काजग बनाएर केन्द्रदेखि स्थानीय तहका अनुदान झ्वाम, बैंकबाट करोडौंको ऋण
त्यहाँ पुगेर निरीक्षण गर्दा सिंगो वन फँडानी भएको, अवैध तरिकाले रुखहरू काटिएको र काठहरू अव्यवस्थित रूपले राखिएको पाएको समेत उनले बताए । उनले भने, ‘रुख काट्ने र वनजंगल फँडानी गर्ने अधिकार कसले र किन दियो ? जनताहरू आक्रोशित थिए । म सरोकारवाला निकायहरूसँग बुझ्नतर्फ लागेँ । तर, कसैले पनि अख्तियारी नदिएको र एग्रो मनाङ प्रालिले अवैध रूपले लुकीछिपी आफूखुसी रुखहरू काटिरहेको बुझ्नमा आयो ।”
गैरकानुनी काम भइरहेको देखेपछि आफू कानूनी बाटोबाट त्यसलाई रोक्नतर्फ लागेको मनाङेले बताए । यसबारेमा थप बुझ्दा एग्रो मनाङको जग्गा नै विवादित रहेको पाएको उनको भनाइ छ ।
मनाङ मर्स्याङ्दी क्लबसँग सम्झौता गरेर एग्रो मनाङले अवैध तरिकाले जग्गा लिजमा लिएको उनको आरोप छ । उक्त फार्मले राज्य संयन्त्रबाट करोडौँ अनुदान, सहुलियत ऋण लिएको हुँदा अनुदानदाता निकायबाट पनि गम्भीर त्रुटि भएको मनाङेको ठहर छ ।
एसियाकै ठूलो फर्म भनेर चर्चा चलाएकै भरमा पहुँचका आधारमा अनुदान बाँड्नुले पनि अनुदानदाताप्रति गम्भीर प्रश्न खडा गरेको छ, उनले भनेका छन्, ‘एग्रो मनाङ प्रालिले ७३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिई ८२५ भन्दा बढी रोपनी जग्गा भोगचलन गर्दै आएको पनि खुलेको छ ।’
विज्ञप्तिमा उनले करिब ३८ रोपनी जग्गामा रुखहरू फँडानी गरिएको, पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना पनि खोलिएको आरोप लगाएका छन् । विद्यालयको करिब १० रोपनी र छेउछाउको करिब २८ रोपनी गरी अन्दाजी ३८ रोपनी सार्वजनिक जग्गामा रहेका रुखहरू काटिएका छन् ।